राप्ती गाउँपालिकाले युवालाई उद्यम सँग जोड्दै : करङ्गेकोटमा बाँसको सामग्री उत्पादन



राप्ती गाउँपालिकाले युवालाई उद्यम सँग जोड्दै : करङ्गेकोटमा बाँसको सामग्री उत्पादन

भालुवाङ २५ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोटमा सञ्चालित बाँसबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी १५ दिने स्तरोन्नती सीप विकास तालिम बिहीबार सम्पन्न भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत स्थानीय स्रोतसाधनको प्रयोग गरी गाउँमै उद्यमी उत्पादन गर्ने उद्देश्यले सो तालिम सम्पन्न भएको हो । तालिममा बाँसको फोटो फ्रेम, प्रमाणपत्र फ्रेम पेन कप, फुलदानी, मन्दिर लगायतका अन्य विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामना सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले सहभागीहरूलाई सिप सिक्ने मात्रै नभएर टिक्ने र बिक्ने पनि हुनुपर्ने धारणा राखे । उनले सिपलाई व्यवसायसँग जोड्न सक्ने हो भने यसले रोजगारी सिर्जना मात्र होइन, आर्थिक रूपान्तरणमा पनि ठूलो टेवा पुग्ने बताए । साथै, स्थानीय स्रोतको भरपूर उपयोग गरी आत्मनिर्भर गाउँपालिका निर्माण गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा वडा अध्यक्ष देवप्रसाद चौधरीले सिकेको सिपलाई व्यवहारमा उतार्न सके मात्रै त्यसको सार्थकता हुने बताए । उनले यस्ता तालिमहरूले सहभागीहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । कार्यक्रममा करङ्गेकोट टोल विकास संस्थाका अध्यक्ष गिरबहादुर थापा मगर, प्रशिक्षक तुलबहादुर केसी, सहभागी कृष्णबहादुर पुजाली लगायतले आ–आफ्नो भनाइहरू राखेका थिए । तालिममा २० जना महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो । उनीहरूलाई गत वर्ष पनि बाँसकै कुर्सी, मुढा लगायतका सामग्रीहरू निर्माण गर्ने तालिम प्रदान गरिएको थियो । समापन कार्यक्रमको सहजीकरण उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे