राप्तीमा ३ कठ्ठा सम्म तरकारी खेती गर्ने किसानलाई प्रति कठ्ठा २ हजार रुपैयाँ अनुदान दिइने



राप्तीमा ३ कठ्ठा सम्म तरकारी खेती गर्ने किसानलाई प्रति कठ्ठा २ हजार रुपैयाँ अनुदान दिइने

सिसहनियाँ २४ वैशाख । दाङको राप्ती गाउँपालिकाले क्षेत्रफलमा आधारित तरकारी खेती प्रोत्साहन कार्यक्रम अन्तर्गत किसान छनोट प्रक्रिया तीव्र बनाएको छ ।

कार्यक्रमको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले स्थलगत अनुगमन थालेको हो । कम्तीमा तीन कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका कृषकहरूलाई लक्षित गर्दै पालिकाले प्रति कठ्ठा २ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिएका छन् । शाखा प्रमुख गडरियाका अनुसार यस वर्ष कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसै बीच गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापती चौधरीको नेतृत्वमा बुधबार अनुगमन टोलीले वडानम्बर ६ का विभिन्न कृषकहरूको खेतमा गई स्थलगत अवलोकन गर्नुका साथै जिपीएस प्रविधिमार्फत जग्गाको क्षेत्रफल मापन गरेको छ । उक्त टोलीमा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, आर्थिक प्रशासन शाखा प्रमुख रेशमराज अधिकारी, कृषि शाखा प्रमुख बरसाती गडरिया, कृषि प्राविधिक निर्मला गिरी,सुवास भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कृषकहरूले दिएका विवरण र वास्तविक अवस्था मिलाउन टोलीले आवेदन फाराममा उल्लेख गरिएका क्षेत्रफल, खेतीको प्रकार र उत्पादन अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको हो। यस कार्यक्रम अन्तर्गत यस वर्ष एक सय दस जना कृषकले आवेदन दिएका छन् । उपाध्यक्ष चौधरीले भनिन्, “सहयोग वास्तविक कृषकसम्म पुगोस् भन्ने हाम्रो उद्देश्य हो । त्यही कारण हामी आफैं खेतमै पुगेर अवस्था हेरिरहेका छौं ।“ गत वर्ष पनि सञ्चालन गरिएको यस कार्यक्रमले किसानहरूमा उत्साह थपेको थियो । यस वर्ष झनै व्यवस्थित र पारदर्शी ढंगले कार्यान्वयन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे