राप्तीमा मानसिक रोग न्यूनीकरण सम्बन्धी तालिम



राप्तीमा मानसिक रोग न्यूनीकरण सम्बन्धी तालिम

भालुवाङ २४ वैशाख । दाङको राप्ती गाउँपालिकामा मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित चार दिने मानसिक रोग न्यूनीकरणसम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । उक्त तालिम गाउँपालिकाको आयोजनामा र संकल्प नेपालको समन्वयमा सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रम संकल्प नेपालकी उपाध्यक्ष तथा मनोपरामर्शकर्ता खिमा रिजालको अध्यक्षता, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यता तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो । समापन कार्यक्रममा उपाध्यक्ष चौधरीले मानसिक अवस्था सन्तुलित भएमा मात्रै व्यक्ति शारीरिक, सामाजिक र भावनात्मक रूपमा सक्रिय र सशक्त बन्न सक्ने बताइन् । मानसिक रोगलाई लुकाउने होइन, समयमै पहिचान गरी आवश्यक सहायता प्रदान गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरिन् । उनले भनिन्, “शरीर ठीक भएजस्तो लागे पनि मनमा समस्या छ भने त्यो व्यक्ति पूर्ण रूपमा स्वस्थ हुन सक्दैन । यस्तो तालिमले मनका कुरा बुझ्न, महसुस गर्न र अरूलाई पनि बुझ्न सिकाउँछ । गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जान्छ ।”

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पालिकामा पछिल्लो समय आत्महत्याका घटनाहरू बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्यप्रति चेतना फैलाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले विद्यालय र समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, तालिमपछि उनीहरूले समुदायमा मानसिक रोगको प्रारम्भिक पहिचान, सल्लाह र सहयोग पु¥याउने विश्वास व्यक्त गरे । तालिम दुई चरणमा चार–चार दिन गरी आठ दिन सम्म सञ्चालन गरिएको थियो । तालिममा राप्ती गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका २० जना स्वास्थ्य विषय शिक्षक र ६४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु गरी ८४ जनाको सहभागिता थियो । सहभागीहरूलाई विद्यालय तथा समुदायस्तरमा मानसिक रोगको प्रारम्भिक पहिचान, प्राथमिक सहायता तथा सहजीकरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

तालिम विशेष रूपमा किशोर–किशोरी तथा बालबालिकाको मानसिक स्वास्थ्य अवस्थाको पहिचान र आवश्यक सहयोगमा केन्द्रित थियो। मनोसामाजिक परामर्शदाताहरू खिमा रिजाल र आस्था केसीले व्यवहारिक अभ्याससहित प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूका अनुसार, मानसिक रोगको प्रारम्भिक चरणमै सहानुभूतिपूर्ण व्यवहार र परामर्श सेवा प्रदान गर्न सकिएमा दीर्घकालीन सुधार सम्भव हुन्छ । समापन कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविका श्यामा राउत, शिक्षक हुमप्रसाद आचार्य र संकल्प चौधरीले तालिममा प्राप्त अनुभव तथा ज्ञान साझा गरे । कार्यक्रमको सहजीकरण शिक्षक बसन्त पुन मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे