राप्ती–३ बसन्तपुरमा एकीकृत घुम्ती सेवा शिविर : स्थानीय नागरिक खुसी
भालुवाङ २४ वैशाख । गाउँबाटै विभिन्न किसिमको सेवा लिन पाउँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ का स्थानीय नागरिकहरु खुसी भएका छन् । राप्ती गाउँपालिकाले बुधवार सोही वडाको बसन्तापुरमा १ दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेर सेवा दिन थालेपछि स्थानीयहरु खुसी देखिएका हुन् ।
गाउँपालिका तथा वडा कार्यालय सम्म सेवा लिन आउन नसक्ने, ग्रामीण भेगमा बसोबास गर्ने, वृद्ध, अशक्त र अपांगता भएका नागरिकलाई लक्षित शिविर सञ्चालन गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले बताए । उनका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परीक्षण, ल्याब सेवा तथा औषधी वितरण, पशुपन्छी उपचार, बन्ध्याकरण, परजीवी नियन्त्रण सम्बन्धी जानकारी, रेविज खोप, माटो परीक्षण, रोग तथा कीरा पहिचान र उपचार परामर्श, विषादी रहित अर्गानिक खेतीबारे सल्लाह, नागरिकता सिफारिस, जन्म, विवाह तथा बसाइँसराइ दर्ता, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, पानी परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो ।
शिविरमा कुल २ सय ७१ जनाले सेवा लिएका छन् । ती मध्ये स्वास्थ्य जाँच, ल्याब परीक्षण तथा औषधि सेवा १ सय ६२ जनाले लिएका थिए । त्यस्तै पशु सेवा ७१ जना, कृषि सेवा १४ जना, ज्येष्ठ नागरिक परिचयपत्र सेवा ७ जना र पञ्जीकरणसम्बन्धी सेवा १७ जनाले लिएका थिए । एउटै स्थानबाट नागरिकले आवश्यक अधिकांश सेवा प्राप्त गर्नुका साथै आफ्ना गुनासा, समस्या र सुझावहरू राख्न पाउने अवसरसमेत शिविरले प्रदान गरेको थियो। संकलित सुझावहरूलाई गाउँपालिकाले आगामी योजना र कार्यक्रम निर्माणमा प्रयोग गर्ने बताएको छ ।
शिविरमा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासिक अधिकृत देवीराम पाठक लगायत अन्य जनप्रतिनिधि, कर्मचारी तथा सेवा प्रदायक निकायहरूको उपस्थिति रहेको थियो । गाउँपालिकाले यस्ता सेवा शिविरहरू प्रत्येक वर्ष विभिन्न वडामा सञ्चालन गर्दै आएको छ । आगामी दिनमा ग्रामीण भेगमा सेवा पहुँचलाई अझ प्रभावकारी, समावेशी र सहज बनाउने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ। साथै, शिविरमा उत्साहपूर्वक सहभागिता जनाउने सम्पूर्ण स्थानीयवासीप्रति आभार प्रकट गर्दै, यस्ता कार्यक्रमलाई थप सशक्त र नियमित बनाइने जनाइएको छ ।

