पाल्पामा डिजिटल मिडियामा प्रभावकारी समाचार लेखन तालिम सुरु
पाल्पा २३ वैशाख । पाल्पाको तानसेनमा २ दिने डिजिटल मिडियामा समाचार लेखन मंगलबार देखि सुरू भएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय उपाध्यक्ष मेघराज शर्माले गरेका छन् । पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा महासंघकी उपाध्यक्ष मिना ढकाल, पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिना, लुम्बिनी प्रदेश सदस्य निर्मल आचार्य र दिल गाहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा अग्रज पत्रकारहरू चेतन अधिकारी, माधव नेपाल, शंकर खनाल र घनश्याम गौतमले सहजीकरण गरिरहनुभएको छ। उहाँहरूले डिजिटल समाचार लेखनमा आवश्यक भाषा, संरचना, तथ्य प्रमाणको महत्त्व, र डिजिटल प्लेटफर्ममा प्रस्तुतिका तरिकाहरूमा प्रशिक्षण दिइरहेेका छन् । महासंघ लुम्बिनी प्रदेशका सचिव गोविन्द शर्माका अनुसार तालिममा पाल्पा र गुल्मी जिल्लाबाट ४० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको छ।

