वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन
काठमाण्डाै २३ वैशाख । वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौकाे थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित थिए । केही दिनअघि अस्पताल भर्ना भए पनि आज उनलाई आईसीयूमा सारिएको थियो । नेता नेपाल २०१० साल पुस ८ गते भोजपुरको पोखरे गाउँमा जन्मिएका हुन् । एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको शुरुआत गरेका थिए ।
नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । साहित्यकार समेत रहेका नेपालका उपन्यास, कथा, गीत, नियात्रालगायतमा कलम चलाएका थिए । २०८० साल चैत ३० मा भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि उनी सार्वजनिक कार्यक्रममा त्यति धेरै सक्रिय रहेनन् । उनी सप्तकोशी मिडिया प्रालिको अध्यक्ष समेत थिए ।

