रेशम चौधरीलाई छाड्न सर्वोच्चले पठायो अर्को पत्र



रेशम चौधरीलाई छाड्न सर्वोच्चले पठायो अर्को पत्र

काठमाडौं १७ वैशाख । सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् ।

पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।

पत्रको व्यहोरामा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२/१/१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

‘त्यो पत्र आधिकारिक नरहेको हाम्रो निष्कर्ष रह्यो । त्यो पत्र आधिकारिक नभएकोले त्यो पत्रमा लेखिए बमोजिम आदेशहरू कार्यान्वयन नगर्नु नगराउनु र यदि त्यो पत्रको आधारमा रेशम चौधरीलाई पक्राउ गरिसकिएको हो भने थुनामुक्त गरिदिनु भनेर हामीले आजै पत्र पनि लेख्यौं,’ प्रवक्ता कुइँकेलले भने । त्यस्तै, उनले यो विषयमा आवश्यक छानबिन गर्ने निष्कर्षमा आफूहरू पुगेको जानकारी दिए ।

‘त्यो अनैतिक पत्र लेखिएको बारे प्रशासनिक तबरबाट हामीले एउटा आवश्यक छानबिन/अनुसन्धान गर्ने निचोडमा पनि हामी पुगेका छौं । त्यो पत्र कसरी गयो, के गर्‍यौं र उहाँ जो मान्छेले पत्र लेखिएको भनेको छ,’ उनले भने, ‘त्यो पत्र पनि उहाँको आफ्नै हो कि होइन ? उहाँको सिग्नेचर हो कि होइन ? उहाँमार्फत् गएको भनिएको छ भनिएको छ, त्यसबारे हामी आवश्यक अनुसन्धान गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे