रास्वपाको प्रवास नेपाली सम्पर्क विभागको सहसचिवमा दाङका रमेश बेल्वासे निर्वाचित
दाङ १६ वैशाख । लन्डन, बेलायत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास नेपाली सम्पर्क विभाग बेलायतको पहिलो महाधिवेशन सम्पन्न भएको छ । रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग बेलायतको पहिलो महाधिवेशन हालै लन्डनमा भव्य रूपमा सम्पन्न भएको हो ।
महाधिवेशनबाट बुटवलका पवन शर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा गुल्मीका कुलेश्वर ढकाल, सचिवमा काठमाण्डौंका कृष्ण लुइँटेल, सहसचिवमा दाङका रमेश बेल्बासे र कोषाध्यक्षमा चितवनका बाबुराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सहसचिव रमेश बेल्बासे दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी हुन् । उनले विभाग अन्तर्गत गठन गरिएको ‘व्यवसाय सहायता डेस्कको नेतृत्व गर्ने जिम्मेवारी पनि पाएका छन् ।
उक्त डेस्कले बेलायतमा रहेका नेपाली व्यवसायी तथा उद्यमीहरूलाई आवश्यक स्रोत, व्यवसायिक तालिम, र विशेषज्ञता प्रदान गर्नुका साथै नेपालमा लगानी तथा व्यवसाय विस्तारको अवसरका लागि पुलको रूपमा कार्य गर्ने छ । यसको पहलले बेलायतमा रहेका प्रवासी नेपालीहरूलाई सशक्त पार्दै, नेपालमा आर्थिक समृद्धिमा प्रत्यक्ष योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा सांसद तथा नीति विश्लेषक डा. स्वर्णिम वाग्लेको विशेष उपस्थिति रहेको थियो ।
