शैक्षिक, भाैतिक र आर्थिक स्तर सुधारका लागि प्युठानको सत्य मावि ददेरीमा महायज्ञ सुरु

भालुवाङ १५ वैशाख । प्युठानको सरूमारानी गाउँपालिका-२ ददेरी स्थित सत्य माध्यमिक विद्यालयमा सोमबार देखि श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान तथा श्रृङ्गारिक महाआरती २०८२ सुरु भएको छ ।
विद्यालयको आयोजनामा शैक्षिक, भाैतिक तथा आर्थिक स्तर सुधारका लागि वैशाख १५ देखि २२ गते सम्म सञ्चालन भएको महायज्ञको विधिवत रूपमा उद्घाटन गरिएको छ । महायज्ञको उद्घाटन वयो वृद्ध धार्मिक तथा आध्यात्मिक व्यक्तित्व ८४ वर्षिय गणेशप्रसाद खनालले गरेका छन् । महायज्ञ मुल समारोह समिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमोहन अमात्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले आफ्नो धर्म संस्कार भुल्न थालेको र पश्चिमी संस्कार भित्रिन थालेको प्रति चिन्ता व्यक्त गरेका थिए । जुन धर्म संस्कार मानेपनि भगवान एउटा छन् त्यसैले सवै मिलेर लागेमा उद्देश्यमा पुग्न सकिने वक्ताहरूले बताएका छन् । साथै वक्ताहरूले आफ्नो क्षमता हेरेर मात्र दान गर्न सुझाव समेत दिएका छन् ।
सो अवसरमा सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्का, वडा नम्बर २ का वडा सदस्य मिन्टु गुरूङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार भानु जोशीले गरेका थिए । कार्यक्रम सुरु हनु अघि कलश सहितको शोभायात्रा निकालिएको थियो । सात दिन सम्म चल्ने महायज्ञको प्रमुख कथा बाचकमा नेपालकै चर्चित १८ पुराणका ज्ञाता युवा प्रविण बाचक श्रद्वय गुरू आचार्य श्री सागर गुरागाइ रहेका छन् । भने उपबाचक तथा श्रृङ्गारिक महाआरती प्रमुख मोहन शर्मा रहेका छन् ।