वैवाहिक स्वर्णगाँठको अवसरमा गिरी दम्पतीद्वारा निलसागरमा भोजन तथा नगद सहयोग

सिसहनियाँ १ वैशाख । दाङको राप्ती गाउँपालिका–४ मौरीघाट निवासी समाजसेवी तथा साहित्यकार कृष्ण गिरी र उनकी धर्मपत्नी द्वारिका गिरीले आफ्नो वैवाहिक जीवनको ५० औं वर्षगाँठ (स्वर्णगाँठ) को अवसरलाई सामाजिक सेवामा समर्पित गर्दै उदाहरणीय कार्य गरेका छन् ।
उनीहरूले राप्ती गाउँपालिका–८ मिलनडाँडामा अवस्थित निलसागर सेवा आश्रममा रहेका बेसहारा मानवहरूलाई साेमबार विशेष भोजन गराउनुका साथै नगद सहयोग समेत प्रदान गरेका हुन्। जेष्ठ नागरिक मिना गिरीको अध्यक्षता, नागरिक समाज दाङका संयोजक तथा साहित्यकार निमबहादुर थापाको प्रमुख आतिथ्यता र वडा नं. ४ का अध्यक्ष वीरबहादुर चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले गिरी दम्पतीले देखाएको सामाजिक उत्तरदायित्व प्रेरणादायी भएको उल्लेख गर्दै यस्तो सकारात्मक कार्य अरूले पनि अनुकरण गर्नुपर्ने धारणा राखे। उनले साहित्य, समाजसेवा र मानवीय सेवाको संयोजन गर्दै समाजमा उदाहरणीय योगदान दिनुहुने गिरी दम्पतीको कार्यको प्रशंसा गरे ।
विशिष्ट अतिथि वडा अध्यक्ष चौधरीले वर्तमान समयमा सम्बन्ध विच्छेद र पारिवारिक अस्थिरता बढ्दै गइरहेको सन्दर्भमा गिरी दम्पतीको वैवाहिक यात्रालाई सामाजिक सेवासँग जोडेर प्रस्तुत गर्नु समाजमा गहिरो सन्देश दिने कार्य भएको बताउनुभयो। उहाँले यस्ता सिर्जनात्मक कार्यले समाजलाई सकारात्मक दिशातर्फ डो-याउने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै कृष्ण गिरीले आफ्नो वैवाहिक जीवनका पाँच दशकहरू सुख–दुःख सँगै बिताएको उल्लेख गर्दै यो अवसरलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजका लागि अर्थपूर्ण बनाउन चाहेकाे बताए । उनले आगामी दिनमा पनि मानवीय सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा गिरी दम्पतीका सुपुत्र डा. बसन्त गिरी र बुहारी डा. सुष्मा गिरीले निलसागर सेवा आश्रमको व्यवस्थापनका लागि नगद ५० हजार १ सय २५ रुपैयाँ सहयोग गरेका थिए । आश्रममा आश्रित व्यक्तिहरूको हेरचाह, उपचार र व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको बताइएको छ।
सहयोगप्रति आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरीले गिरी परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगहरूले आश्रमलाई सञ्चालन गर्न थप ऊर्जा प्राप्त हुने बताए। उनले समाजका अन्य व्यक्तिहरूलाई पनि यस्ता मानवीय सेवामा अग्रसर हुन आह्वान गरे। कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, साहित्यकार, सञ्चारकर्मी तथा गिरी परिवारका आफन्तजनको उपस्थिति रहेको थियो। २०७६ सालमा स्थापना भएको निलसागर सेवा आश्रममा हाल ६ महिला सहित ३० जना बेसहारा मानवहरू आश्रित छन्। आश्रमले बेसहारा, असक्त तथा वृद्धवृद्धालाई निःशुल्क सेवा, आवास र हेरचाहको सुविधा प्रदान गर्दै आएको छ।
गिरी दम्पतीको यो सामाजिक योगदानले वैवाहिक जीवनको यात्रालाई केवल व्यक्तिगत खुसीमा सीमित नराखीआश्रममा रहेको समाजको हितमा रूपान्तरण गर्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। यसै बीच लमही नगरपालिका – ३ उज्यालो बस्ती निवासी सामाजिक अभियान्ता बसन्तराज शर्मा “बिक्रान्त” दम्पतीले पनि साेमबार नै बेसहाराहरुलई फलफूल प्रदान गरेका छन् ।