दाङकाे राप्ती गाउँपालिकाको तेस्राे त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम भानपुरमा सम्पन्न

भालुवाङ ३१ चैत । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आज आइतबार सम्पन्न भएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ७ स्थित भानपुर चोकमा सम्पन्न भएको हो । राप्ती गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कामकारवाहीबारे जानकारी गराउँदै सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरेको हो ।
सो अवसरमा पालिकाका शिक्षा, युवा तथा खेलकेद शाखा प्रमुख एवम् सुचना अधिकारी विश्वास विकले आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत र सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरु र विभिन्न शाखाका शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरेको उल्लेख गर्दै समृद्धि, विकास र सेवा प्रवाहमा आफूहरु निरन्तर क्रियाशील रहेको बताए। उनले भने, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ । रचनात्मक सुझाव, सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ ।“ अध्यक्ष विष्टले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताए। साथै, उनले दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिए ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पहलवान चौधरी, १ का वडा अध्यक्ष गेमबहादुर खड्का, ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, ६ का वडा अध्यक्ष दिपककुमार चौधरी, ७ का वडा अध्यक्ष सिताराम चौधरी, ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीमगर सहित कार्यपालिका सदस्य,अन्य जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख, टोल विकास संस्थाका पदाधिकारी र संचारकर्मी लगायत स्थानीयबासीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण पत्रकार चुमा आचार्य र दिबाकर पोख्रेलले गरेका थिए । राप्ती गाउँपालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ ।