राप्तीमा ३८ जना क्षयरोगका बिरामी फेला, नियमित औषधी सेवनले रोग निको हुन्छ : राउत

सिसहनियाँ ११ चैत । दाङको राप्ती गाउँपालिकामा ३८ जना क्षयरोगका बिरामी उपचाररत रहेको एक तथ्याङले देखाएको छ ।
“हामी क्षयरोग अन्त्य गर्न सक्छौंः लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता“ भन्ने नाराका साथ विश्व क्षयरोग दिवसका सोमवार राप्ती गाउँपालिका स्वास्थ्य शाखाले वडा नम्बर ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानी सिसहनियाँमा आयोजनाको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा तथ्याङ प्रस्तुत गर्दै क्षयरोग मुक्त अभियानकी कार्यक्रम संयोजक प्रतिमा विष्टले बताइन् । चालु आर्थिक वर्षमा हाल सम्म १३ महिला र २५ पुरुष गरी ३८ जना क्षयरोगी उपचाररत र यसले महिलाको तुलनामा पुरुषहरुमा रोगको संक्रमण बढी देखिएको उनले बताइन् । साथै उनले पालिकामा क्षयरोगको अवस्था र यसको न्यूनीकरणका लागि भइरहेको कार्यबारे समेत जानकारी दिइन् ।
व
डा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले स्थानीय तहबाट क्षयरोग नियन्त्रणका लागि हालसम्म भएका प्रयासको चर्चा गर्दै क्षयरोग न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा अझ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए । उनले समुदायस्तरमा डट्स विधिबाट उपचार प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेविकाको भूमिकालाई प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । स्वास्थ्य शाखा प्रमुख नारायण राउतले क्षयरोग एक व्यक्ति बाट अर्को व्यक्तिमा हावाको माध्यमबाट छिटो सर्ने रोग भएकोले यसलाई रोकथाम गर्न समयमै उपचार र जनचेतना अत्यन्त महत्वपूर्र्ण रहेको बताए । उनले नियमित औषधी सेवन र चिकित्सकको परामर्शपालना गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने उल्लेख गर्दै समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन पालिकाले निरन्तर प्रयास गरिरहेको जानकारी दिए ।
कार्यक्रममा जनस्वास्थ्य निरिक्षक तथा क्षयरोग फोकल पर्सन पदमप्रसाद पौडेल र सिनियर अहेब धनबहादुर बुढाक्षेत्रीले क्षयरोग एक संक्रामक रोग भएको र समयमै उपचार सुरु गर्न सकेमा यो पूर्ण रूपमा निको हुने बताए । उनले क्षयरोग रोकथामका लागि समुदायस्तरमा जनचेतना फैलाउने कामलाई अझ प्रभावकारी बनाउन आवश्यकता रहेको धारणा राखे साथै, डट्स विधिको प्रभावकारिताबारे चर्चा गर्दै यसले रोगीको उपचार प्रक्रिया नियमित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सो अवसरमा समुदायमा आधारित डट्स विधिबाट प्रभावकारी रूपमा क्षयरोगीको उपचारमा संलग्न स्वास्थ्य महिला स्वयंसेविका मिठ्ठु चौधरीलाई प्रसंशापत्र सहित सम्मान गरिएको थियो ।
नेपालले सन् १९९६ देखि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार डट्स (प्रत्यक्ष निगरानीमा औषधि खुवाउने) विधिबाट क्षयरोगको उपचार गर्दै आएको छ । रोगको सुरुवाती चरणमा नै पत्ता लगाउन नसक्ने र स्वास्थ्य संस्थामा ढिला उपचार गराउने प्रवृत्तिले मृत्युदर बढाएको तथ्यांकले देखाएको छ । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग नियन्त्रण र सन् २०५० सम्म उन्मूलन गर्ने लक्ष्य राखेको छ । तथापि, नयाँ क्षयरोगी थपिने क्रम रोकिएको छैन । औषधी प्रतिरोधी क्षयरोगको उच्च जोखिम भएका ३० देशको सूचीमा नेपाल सन् २०२१ देखि समावेश भएको छ ।