दाङको सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी, करोडौंको क्षति

दाङ ११ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरा स्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजे देखि सुरु भएको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिए । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
यसै बीच आगो नियन्त्रणकालागि बाहिरी जिल्लाबाट मगाईएका दमकल दाङ पुगेका छन् । कपिलबस्तु र नेपालगञ्जबाट दमकल आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार दाङका दुई वटा र बाहिरी जिल्लाबाट आएका दुई वटा दमकल प्रयोगमा आएका छन् । आगो नियन्त्रणको प्रयास जारी छ । बस्तिमा आगो नजाओस्, भनेर दमकलले स्काभेटरले आगो लागेको ठाउँको धुम्को फुटाईएको छ । कम्पाउन्ड पनि भएकाले बाहिरी आगो जान सक्ने अबस्था भने टरेको उनको भनाई छ । आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले बताएको छ ।