लुम्बिनी प्रदेशमा करिब ९ हजारमा क्षयरोगको संक्रमण, पहिलाे रुपन्देही र दाेस्राेमा दाङ

भालुवाङ ११ चैत । लुम्बिनी प्रदेश भरिमा करिब ९ हजार जनामा क्षयरोगको संक्रमण देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले प्रदेश भरिका १२ वटा जिल्लामा यस आर्थिक बर्ष सम्म ८ हजार ४ सय ४४ जनामा क्षयरोगको संक्रमण देखिएको हो ।
यो संक्रमणको दरलाई हेर्ने हो भने पनि क्षयरोगको संक्रमणको अवस्था भयाबह भएको मान्न सकिन्छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशको रूपन्देहीमा सबै भन्दा बढी क्षयरोगको संक्रमित रहेको छ । रूपेन्देही जिल्ला अहिले सम्म २ हजार १२ जनामा क्षयरोगको संक्रमण फेला परेको निर्देशनालयका डा. अच्युत शर्मा न्यौपानेले जानकारी दिनुभयो । जस अनुसार दाङमा १ हजार ४ सय १५ जना, बाँकेमा १ हजार १ सय ८२ जना, कपिलबस्तुमा ९ सय ७८ जना, बर्दिया ७ सय ३०, पश्चिम नबलपरासी ५ सय २० जनामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै पाल्पामा ३ सय ६३, अर्घाखाँची २ सय २५, गुल्मीमा २ सय ६३, प्यूठानमा ३ सय ८६, रोल्पामा ३ सय १२ र रूकुम पूर्वमा ५८ जनामा क्षयरोगको संक्रमण फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार रूपन्देही पछि दाङमा संक्रमणको दर बढी देखिएको छ भने सबै भन्दा कम रूकुम पूर्वमा देखिएको छ । स्वास्थ्य संस्थामा गरिएको परिक्षण तथा शिविर सञ्चालन गरेर प्राप्त नतिजालाई आधार मानेर संक्रमणदर फेला परेको निर्देशनालयका डा. अच्युत शर्मा न्यौपानेले जानकारी दिए ।
दाङको भालुवाङमा विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रिया
यसैबीच दाङ–देउखुरीको भालुवाङमा विश्व क्षयरोग दिवस मनाईएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा क्षयरोगको अवस्था, नियन्त्रणका लागि गरिएका प्रयास र अगामी योजना लगायतका बिषयमा सरोकारवाला निकायहरू संग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाईएको हो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरूले क्षयरोग नियन्त्रणका लागि तीनै तहका सरकार अभियान बनाएर लाग्नु पर्ने बताएका छन् । उनीहरूले दिवस मात्र मनाएर नभई नियन्त्रणका लागि प्रदेशका १२ वटै जिल्लामा अभियान नै सञ्चालन गर्नुपर्ने सुझाब दिएका छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका बरिष्ठ नर्सिङ्ग प्रशासक ईश्वरी केसीले क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकार मात्र नभई संघ र स्थानीय सरकार पनि लाग्नुपर्ने बताए । उनले क्षयरोगको बढ्दो संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले योजना बनाएर अघि बढ्ने बताए । उनले नयाँ संक्रमणदर रोक्न सञ्चार माध्यमले समेत आवश्यक भूमिका बढाउन आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले क्षयरोग नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय संग आवश्यक बजेट र उपकरण नरहेको बताए ।
उनले बजेट र आवश्यक उपकरणको अभाबमा क्षयरोग नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको स्वीकार गरे । निर्देशक चौधरीले अहिले सम्म क्षयरोग नियन्त्रणका लागि संघ सरकारको भर पर्नुपर्ने बाध्यता रहेको समेत बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, बुटवल टुडेका बरिष्ठ समाचारदाता चुमा आचार्य, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधानसम्पादक सन्तोषकुमार गुप्ता, गणतन्त्र नेपाल डटकमका कार्यकारी सम्पादक आलोक भावुक लगायतका वक्ताले सुझाब सहितको भनाई राखेका थिए । कार्यक्रममा १२ वटा जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरू, १२ वटै जिल्लाका फोकल पर्सन र पत्रकारहरू गरी ५० जनाको सहभागिता रहेको थियो । सो अवसरमा स्वास्थ्य निर्देशनालयका कन्सलटेण्ट कम्युनिटी डा.अच्युत शर्मा न्यौपानेले अहिले सम्म लुम्बिनी प्रदेशमा क्षयरोग संक्रमणको अवस्था, चुनौती र अहिले सम्म संक्रमणदर घटाउन गरिएका प्रयास लगायका बिषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सहजीकरण क्षयरोगका फोकल पर्सद परशुराम पोख्रेलले गरेका थिए ।