संकटमा गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्छ : महासचिव पोख्रेल

विराटनगर १० चैत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले लोकतन्त्र र गणतन्त्र खतरामा परेको बेला गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले विगतमा पनि लोकतन्त्र खतरामा परेको बेला दल मिलेर अघि बढेको स्मरण गरे। महासचिव पोख्रेलले भने, ‘‘राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्वीकार्न सक्दैन।’ राजावादीले जनतामा भ्रम छरेर कुप्रचार गरिरहेको आरोप उनको छ। विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति नभएको भन्दै महासचिव पोख्रेलले च्याउ सरी दलहरु उम्रनु राम्रो नभएको र अहिले पनि नेकपा (एमाले) नै जनताको रोजाइको पार्टी भएको दाबी गरे।
राजतन्त्र ठीक थियो भन्ने तर्क मूर्खले पनि नगर्ने महासचिव पोख्रेलको भनाइ थियो। उनले भने, ‘‘राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खले पनि गर्दैनन् तर यहाँ केहीले त्यस्तो भन्ने गरेको सुनिन्छ। केका आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन् मलाई अनौठो लाग्छ। राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन्। राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खले पनि गर्दैनन्। आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कूतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन् भने त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ।’’ उनले जन्मका आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा स्वीकार्न नसकिने पनि बताए।
समाजमा विभिन्न ढंगले भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै उनले पत्रकारले तथ्यका आधारमा त्यस प्रकारका भ्रम चिर्नुपर्ने जिम्मेवारी रहेको पनि बताए। उनले मुलुकको संकटको कारण अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र नभएको स्पष्ट पारे। वर्तमान सरकारले सुशासन र विकासको पक्षमा काम गरिरहेको भन्दै सरकारले केही पनि काम गरेन भन्ने हल्ला चलाइएकोप्रति असन्तोष व्यक्त गरे। उनले देशको आर्थिक सूचकको विद्यमान अवस्थाका बारेमा लामै चर्चा गर्दै देशमा केही भएको छैन भनेर फैलाइएको हल्लाको खण्डन गर्ने प्रयास गरे। महासचिव पोख्रेलले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारको संगठन भएको भन्दै यसले सक्षम र योग्य नेतृत्व सबैको सहमतिमा छान्ने विश्वास पनि व्यक्त गरे।
एमालेको भातृ संगठन प्रेस चौतारीको आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले दाबी प्रस्तुत गरेका छन्। संगठनले बन्द सत्र सुरु भएपछि त्यस विषयमा छलफल गर्ने तयारी गरेको छ। पार्टी नेतृत्व भने सहमतिका आधारमा नयाँ कमिटी गठन गर्ने प्रयत्नमा देखिएको छ। केन्द्रीय महाधिवेशनलाई शुभकामना दिदै नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले पत्रकारलाई समाचार लेख्न र कार्टुन बनाउन समेत निरुत्साहित गर्नका निम्ति राज्यले सामाजिक संजाल विधेयक ल्याएको भन्दै विरोध जनाए। राज्यले पत्रकारलाई तर्साउने प्रयत्न गरिरहेको भन्दै अहिलेको सरकारले अगाडि बढाएका संचार क्षेत्रका ऐनमा धेरै प्रश्न उठाउने ठाउँ रहेको बताए। तर, नेपालको प्रेसलाई कुण्ठित गर्ने विगतका प्रयत्नहरुलाई नेपाली पत्रकारले सधैं विफल बनाएको भन्दै उनले दल मिलेर सरकार बनाउन सक्ने भए पनि संघर्षबाट प्राप्त भएको प्रेस स्वतन्त्रताका विषयमा कसैसँग सम्झौता गर्न नसक्ने बताए।
महाधिवेशन उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका कार्यालय सदस्य विश्वमणि सुवेदीले पत्रकारहरुको हितका लागि प्रेस चौतारी नेपालले सधैं अग्रणी भूमिका निर्वाह गरिरहेको भन्दै विगतमा आफूले पार्टी र संगठनलाई कमजोर बनाउने गरी गरेको भूमिका सच्याइसकेको टिप्पणी गरे। अधिवेशन उद्घाटनमा समृद्धि यात्रा नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो भने चौतारी स्मारिका र नौ सय पृष्ठको लेखसंग्रह विमोचन गरिएको छ। प्रेस चौतारी नेपालको जारी महाधिवेशनमा देशका ७७ जिल्लाका नौ सय प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ। अधिवेशनबाट ९ जना पदाधिकारी र ९० केन्द्रीय सदस्यसहित ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। यसअघि चौतारीको केन्द्रीय समिति ३०७ सदस्यीय थियो। गाेरखापत्र अनलाइनबाट साभार