सडक विरोधी गतिविधि गरेको भन्दै संघर्ष समितिका संयोजक प्रकाश शाही र जगदीश गिरी पक्राउ



सडक विरोधी गतिविधि गरेको भन्दै संघर्ष समितिका संयोजक प्रकाश शाही र जगदीश गिरी पक्राउ

भालुवाङ १६ वैशाख । सडक विरोधी गतिविधि गरेको भन्दै दाङको राप्ती गाउँपालिकाबाट २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले धानखोला- लमही चार लेन सडक संघर्ष समितिका संयोजक प्रकाश शाही र जगदीश गिरीलाई राप्ती गाउँपालिका-३ मसुरीयाबाट पक्राउ गरेको हो ।

माथिको निर्देशन भन्दै आफुलाई पक्राउ गरेको संघर्ष समितिका संयोजक शाहीले बताए । आफूहरू पक्राउ परेपनि आन्दोलन नरोकिने शाहीले बताएका छन् । पक्राउ परेका शाही र गिरीलाई वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । संयोजक गिरीले लामो समय देखि सो सडक खण्ड ४ वा ६ लेनमा विस्तार गर्न माग राख्दै विरोध गर्दै आएका थिए ।

यस अघि उनले प्रदेश सभा अगाडि विरोध प्रदर्शन, प्रधानमन्त्री कार्यालय लगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने काम गरेका थिए । यता संघर्ष समितिले भने पक्राउ परेका शाही र गिरीलाई तत्काल रिहा गर्न माग गरेका छन् । लोकतन्त्र, गणतन्त्रमा पनि विरोध र बोल्न नपाउने यो कस्तो शासन भन्दै युवाहरूले सरकारको विरोध गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को लगानीमा बुधबार आज पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडक स्तरबृद्धिको काम सुरु गर्ने भएको छ ।

उक्त सडक स्तरबृद्धिको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने छन् । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति(एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ ।

दुई कम्पनीले उक्त सडकको ठेक्का पाएका छन् । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे