राप्तीमा प्रदेश र संघ सरकारसँग माग गरिने योजनाका विषयमा राजनीतिक दलहरूसँग छलफल
भालुवाङ १० चैत । दाङको राप्ती गाउँपालिकाले प्रदेश र संघ सरकारसँग माग गरिने विभिन्न योजनाहरूको प्राथमिकता निर्धारणका लागि आइतबार गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरूसँग छलफल सम्पन्न गरेको छ।
गाउँपालिकाले आयोजना गरेको उक्त बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले गाउँपालिकाको समग्र विकासका लागि आवश्यक योजना र तिनका प्राथमिकताबारे आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न छलफलमा शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक पूर्वाधार, कृषि र पर्यटनको विकासका विशेष कार्यक्रमहरू ल्याउनु पर्ने विषयमा जोड दिइएको थियो।
अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको दिगो विकासका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरी ठूला योजना माग गर्ने तयारी भइरहेको जानकारी दिँदै यस प्रक्रियामा सबै राजनीतिक दलहरूसँग सहकार्य आवश्यक रहेको बताए।
छलफलमा सहभागी दलका प्रतिनिधिहरूले योजना माग गर्ने क्रममा आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर अघि बढ्न सुझाव दिएका थिए ।

त्यस्तै, प्रतिनिधिहरूले विशेष रूपमा शिक्षा, स्वास्थ्य, कृषकहरूको आर्थिक सशक्तीकरण, सिँचाइका नयाँ योजना, पर्यटन क्षेत्रको प्रवर्द्धन र विकट क्षेत्रहरूमा यातायात सुविधा विस्तारको आवश्यकतामा जोड दिएका छन्।
छलफलको आधारमा राप्ती गाउँपालिकाले प्राथमिकताका योजनाहरूको सूची तयार गरी प्रदेश र संघ सरकारलाई पठाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

