भालुवाङ १५ वैशाख । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को लगानीमा बुधबार देखि दाङमा काम सुरु गर्ने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडक स्तरबृद्धिको काम सुरु गर्ने भएको छ ।
उक्त सडक स्तरबृद्धिको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नेछन् । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति(एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ ।
दुई कम्पनीले उक्त सडकको ठेक्का पाएका छन् । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ । जुन नेपाली कम्पनी हो । एमसीसीका अन्य ठेक्काहरु नेपाली कम्पनीले यस अघि पाएका थिएनन् ।
यस्तै उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को सम्झौता पनि गरेको छ । ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए । एमसीसी परियोजनाअन्तर्गत धानखोला–लमही ४० किलोमिटर सडक खण्डको मर्मत तथा स्तरोन्नतिका विषयलाई लिएर स्थानीयहरूले यस अघि विरोध पनि गरेका थिए । उक्त सडक चारलेन बनाउनु पर्ने माग सहित स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।
पूर्वपश्चिम राजमार्ग अहिले पनि दुई लेनको छ । साँघुरो भएका कारण यसलाई एशियाली हाइवे मापदण्डमा स्तरोन्नति भइरहेको छ । झापादेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनको बनाउने प्रक्रिया अहिले पनि चलिरहेको छ । सम्झौता अनुसार धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाएको छ ।
यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए-नेपाल) ले मंगलबार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भालुबाङ देखि लमही सम्म सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गरे । उनले फराकिलो सडक, व्यवस्थित बस स्टेसन र सुरक्षित सडक पेटी निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । ‘जनअपेक्षा अनुसार के-के क्षेत्रमा सुधार गर्न सकिन्छ, त्यसमा ध्यान दिएर काम गर्नुपर्ने छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सडक सुधार र निर्माणको काम निर्धारित समयभित्र सम्पन्न गर्न विशेष ध्यान दिनु आवश्यक छ ।’
उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो । एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले संस्थाले विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार धानखोला-लमही ४० किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइएको छ । एमसिए-नेपालका अनुसार उक्त सडक खण्डको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ । वातावरणीय, सामाजिक, स्वास्थ्य तथा सुरक्षण व्यवस्थापन योजना स्वीकृतिको प्रक्रियामा रहेको र स्वीकृति पश्चात् निर्माण कार्यले गति लिने जनाइएको छ । यसैबीच, २०८३ साल वैशाख १६ गते धानखोला-लमही सडक स्तरोन्नति कार्यको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको छ ।
लाइभ दाङबाट साभार