मुख्यमन्त्री चेतनारायण आचार्य र सभामुख तुलाराम घर्तीद्वारा होलीको शुभकामना
भालुवाङ २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सभामुख तुलाराम घर्ती मगरले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरे ।
असत्य माथि सत्य, अन्यायमाथि न्याय, र अन्धकार माथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली)पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उनको विश्वास छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध सांस्कृतिक सम्पदा, परम्परा, र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताए । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा पनि उनले विशेष जोड दिए।
पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश गर्न नदिन आग्रह गर्दै मुख्यमन्त्रीले सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गरेका छन् । यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग, र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वका रूपमा होली मनाउन अनुरोध गरेका छन् ।
यस्तै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चाडपर्व मनाउदा त्यसको मौलिक पहिचान जोगाउन आग्रह गरेका छन् नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेको बताउँदै उनले यो नै विविधता भित्रको सुन्दर पक्ष उल्लेख गरेका छन् ।
होली पर्बको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले पछिल्लो समयमा चाडपर्वहरु भड्कीलो, खर्चिलो र मौलिकपन हराउदै गएको आभास हुन थालेको भन्दै चिन्ता व्यक्त गरे। उनले होलीको मौलिकपन कायम राख्दै विकृतीरहित बनाउन र सभ्य मर्यादित सद्भावपूर्ण रुपमा मनाउन अनुरोध समेत गरेका छन् ।

