राप्ती गाउँपालिकामा निशुल्क पाठेघरकाे क्यान्सर परीक्षण, २ सय बढीले सेवा लिए
भालुवाङ २६ फागुन । दाङको राप्ती गाउँपालिकामा एक दिने निशुल्क पाठेघरको मुखको क्यान्सरकाे परीक्षण (स्क्रिनिङ) शिविर साेमबार सम्पन्न भएको छ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा साे शिविर सम्पन्न भएको हाे। गाउँपालिकाकाे वडा नं. ४ स्थित माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा आयोजित शिविरमा २ सय ३४ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार शिविरमा प्रजनन् रुग्णता स्वास्थ्य सेवा,पाठेघरको क्यान्सरसम्बन्धी प्रारम्भिक परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। शिविरको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्यान्सर जस्तो गम्भीर रोग समयमै पहिचान भएमा उपचार सम्भव हुने बताउँदै रोग लाग्न नदिन सचेतना आवश्यक रहेको उल्लेख गरे। “धेरै महिलाहरूले क्यान्सर भइसकेपछि मात्रै थाहा पाउने भएकाले उपचारमा कठिनाइ हुन्छ। त्यसैले प्रारम्भिक पहिचान गर्न यो शिविर सञ्चालन गरिएको हो,” अध्यक्ष विष्टले भने।त्यस्तै उनले कतिपय नागरिकहरूले आर्थिक अभावका कारण परीक्षण गराउन नसक्ने भएकाले शिविर महत्वपूर्ण रहेको बताए।
गाउँपालिका गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष विष्टले भविष्यमा पनि यस्ता शिविरहरू निरन्तर सञ्चालन गरिने उल्लेख गरे। वडा नं. ४ का अध्यक्ष वीर बहादुर चौधरीले गाउँपालिकाले गाउँमै स्वास्थ्य सेवा पु¥याउने अभियानलाई प्राथमिकता दिइरहेको बताए। स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार शिविरमा क्यान्सरका संकास्पद १५ जना बिरामीहरुलाई थप परामर्श तथा उपचारका लागि विभिन्न क्यान्सर अस्पतालहरूमा रिफर गरिएको छ। शिविरमा राप्ती आधारभूत अस्पतालका डाक्टर सुरेश घिमिरे, सिनियर अनमी निरीक्षक भारती सन्यासी, सिनियर अनमी जानकी रोका, जनस्वास्थ्य निरीक्षक पोषणराज ढकाल, सिनियर अहेब कमला न्यौपाने, अहेब चेतन पोख्रेल, अहेब रिमा जिसी, अनमी इन्दु थापा, अनमी प्रेमा बुढाथोकी तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरूले सेवा प्रदान गरेका थिए।

