दलित सञ्जाल राप्तीद्धारा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरु
भालुवाङ २६ फागुन । दाङको राप्ती गाउँपालिका ३ मसुरीया नयाँबस्तीमा खुकुरी तथा कृषि औजार निर्माण सम्बन्धी दुई महिने तालिम सुरु भएकाे छ।
परम्परागत आरन पेशाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सञ्जाल राप्तीको आयोजनामा तालिम सुरु भएको हाे । तालिमको साेमबार वडा नं. ३ का अध्यक्ष उमेश अधिकारीले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष अधिकारीले परम्परागत आरन पेशा लोप हुने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। त्यस्तै युवाहरूमा यो पेशाप्रति घट्दो रुची पुनः जागृत गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। नेपाल एकीकरणमा खुकुरीको ऐतिहासिक महत्त्वको चर्चा गर्दै अध्यक्ष अधिकारीले राप्तीलाई चिनाउने गरी विभिन्न प्रकारका खुकुरी निर्माण गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे।
त्यस्तै उनले तालिमपछि व्यावसायिक रुपमा अगाडि बढ्न सहभागीहरूलाई प्रेरित गर्दै उत्पादित सामग्रीको बजारीकरणमा वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य रणबहादुर पुजारी, वडा नं. ८ का सदस्य भानु विक, दलित अगुवा रङ्गबहादुर सुनुवार लगायतले आरन पेशा संरक्षणमा पालिकाले गरेको पहलको प्रशंसा गर्दै आगामी दिनमा थप यस्ता तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा वडा नं. २ का सदस्य तुल्सा विक, घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्योधन पाण्डे, नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतकाे उपस्थिति रहेको थियो। सञ्जालका अध्यक्ष ठगेन्द्र परिवारको अध्यक्षतामा तथा सल्लाहकार इन्द्रजित गोतामेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रामकृष्ण सुन्दासले गरेका थिए। ९ जना प्रशिक्षार्थीहरु सहभागी रहेकाे तालिमकाे प्रशिक्षकमा विष्णु रसायली रहेका छन्।
