नारी दिवसले नछाेएकाे दृश्य : अदालतको मुल गेटमा अनशन बसेर न्याय माग्दै एक नारी
भालुवाङ २४ फागुन । दाङ जिल्ला अदालतको मुल गेटमा ४ दिन देखि न्यायको माग गर्दै आमरण अनशनमा बसीकी एक महिलाको आवाज कसैले सुनेको छैन ।
शनिवार दाङ सहित देशैभर ११५ औं अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी महिला अधिकारकर्मी तथा विभिन्न महिला संघसंगठनले मनाए । न्याय तथा अधिकारका सवालमा थुप्रै बहस पनि भए । नाचगान पनि भए तर दाङको जिल्ला अदालतमा ४ दिन देखि न्यायको माग गर्दै अनशन बसीकी ती नारीको समस्या कसैले सुनेको देखिदैन । घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया ती महिला २ वर्ष अगाडी दाङ जिल्ला अदालतका तत्कालिन तहसिलदार निरन्जनबाबु पाण्डेले अदालतकै सरकारी क्वार्टरमा दिनदहाडै बलात्कार गरेको र आफुले सवै प्रमाणहरु पेश गर्दा समेत अहिले सम्म अदालतबाट न्याय नपाएको भन्दै विगत ४ दिन देखि जिल्ला अदालतको मुलगेटमा आमरण अनशन बसेकी छिन् ।
ती महिलाले अदालतका पुर्व तहसिलदार निरन्जनबाबु पाण्डेलाई उन्मुक्ती दिन पाइदैन, मेरो बकपत्रको क्रममा प्रमाणको रुपमा पेश गरेको १ घण्टा ८ मिनेटको अडियो रेकर्ड भएको पेनड्राइभ लिपिबद्ध गरि प्रमाणको रुपमा हेरियोस्, बलातकार जस्तो जघन्य अपराधलाई मिलापत्र गराउने मतियारहरुलाई कडा कारवाही गरियोस्, अपराधीलाई पैसा, पावर र शक्तिको आडमा उन्मुक्ति दिई पिडितलाई मर्न बाध्य नबनाइयोस् र पिडित राहत कोषबाट पिडितलाई स्वास्थ्य तथा जिविकोपार्जनका लागि राहतको व्यवस्था गरियोस् जस्ता माग राखेकी छिन् ।

