शिवरात्रीको नाममा विकृति भित्र्याउन हुँदैन : अध्यक्ष विष्ट



शिवरात्रीको नाममा विकृति भित्र्याउन हुँदैन : अध्यक्ष विष्ट

सिसहनियाँ १४ फागुन । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले महाशिवरात्री जस्तो पवित्र पर्वको अवसरमा हुने धार्मिक गतिविधिमा कुनै पनि प्रकारको विकृति भित्र्याउन नहुने बताएका छन् ।

उनले शिवरात्रीलाई आध्यात्मिक, सांस्कृतिक र सामाजिक एकताको पर्वको रूपमा मनाउनुपर्ने उल्लेख गर्दै परम्परागत धार्मिक मान्यताको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरे । शिवरात्रीको अवसरमा राप्ती गाउँपालिका-५ पहरुवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रले आयोजना गरेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमको बुधबार उद्घाटन गर्दै अध्यक्ष विष्टले पछिल्लो समय महाशिवरात्रि जस्ता पर्वहरूमा विकृति र असंस्कृति फैलिन थालेकोप्रति चिन्ता व्यक्त गरे । “शिव साधना, भजन, कीर्तन, ध्यान र धार्मिक चेतनाको पर्व हो। तर, पछिल्लो समय केही ठाउँहरूमा यसको नाममा अनावश्यक गतिविधि बढ्दै गएको देखिन्छ, जसले हाम्रो मौलिक संस्कृतिलाई असर पुर्याइरहेको छ,” उनले भने ।

मेला सञ्चालन समितिका संयोजक मिश्रुलाल चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको मेला उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद अधिकारी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए । मेलाका सांस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक सन्तोष कुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे