दाङको देउखुरीमा तिना नामबाट समुन्नती सहकारी संस्थाले तरकारीको बजारीकरण गर्दै 



दाङको देउखुरीमा तिना नामबाट समुन्नती सहकारी संस्थाले तरकारीको बजारीकरण गर्दै 

देउखुरी ११ फागुन । दाङ देउखुरीको एक सहकारी संस्थाले तिना नामबाट तरकारीको बजारीकरण गर्न सुरू गरेको छ ।

लमही नगरपालिका वडा नम्बर २ केरुनियामा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारीले तिना ब्राण्ड नाम राखेर तरकारीको बजारीकरण गर्न सुरूवात गरेको हो । स्थानीय महिलाहरूद्वारा गठन गरिएको सहकारीले यस अघि पनि विभिन्न व्यवसायहरु संचालन गर्दै आएको थियो । तरकारी उत्पादक किसानहरूले तरकारीको बिक्री वितरणमा पाएको समस्यालाई समाधान गर्नका लागि सहकारीले यस बर्ष देखी तरकारीको कारोबार पनि सुरु गरेको हो ।

हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामीण महिला उत्थान केन्द्र दाङद्वारा संचालनमा आएको तरकारीको मूल्य श्रीङ्खलामा नवप्रवर्तन मार्फत ग्रामिण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता विकास  ( IALVC ) परियोजना अन्तर्गत सहकारीमा तरकारीको संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिने भएपछि सहकारीले तरकारी बजारीकरण कार्यको पनि सुरूवात गरेको हो ।  तरकारीको उत्पादन राम्रो भएको तर बजारीकरणको निकै ठूलो समस्या रहेको अहिलेको अबस्थामा दाङ विभिन्न १० वटा सामाजिक उद्यमी महिला सहकारीहरुलाइ समेटेर संचालन भएको परियोजनाले लमहीमा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारीलाई केन्द्र बनाएर तरकारीको ठूलो पशोधन केन्द्र स्थापना गर्ने र दाङ र सल्यानको तरकारीलाई ब्राण्डिङ तथा प्याकेजिङ गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउने उदेश्य रहेको हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्यले बताए ।

तरकारीलाई अरु भन्दा फरक तरिकाले बजारमा पठाउन र दाङको तरकारीलाई सबैमाझ चिनाउनका लागि तिना नाम राखेर प्रशोधन केन्द्र मार्फत तरकारी बजारीकरण गर्न लागिएको परियोजनाका व्यवसाय विकास अधिकृत हिमाल खडकाले बताए । दाङमा धेरै मात्रा चौधरी समुदायहरुनै तरकारी उत्पादनमा लागेको र सुन्दा पनि आकर्षक देखिने भएकाले आफुहरुले तरकारीको ब्रान्ड नाम तिना राखेको सहकारीले बताएको छ । थारु भाषामा तरकारीलाई तिना भनिन्छ । हाल प्रशोधन केन्द्र स्थापनाका लागि भवन निर्माणको काम भैरहेको छ । भवन निर्माणका लागी  नेपाल सरकारको सहरी विकास मन्त्रालयबाट १ करोड बजेट विनियोजन गरिएको थियो । भवन निर्माण पश्चात् हेफर इन्टरनेशनल नेपालको करिब ८० लाख लगानीमा तरकारी प्रशोधनका लागि विभिन्न मेसिनहरु जडान गरिनेछ । स्थानीय उत्पादनलाई सहज बजारीकरण गर्न यो परियोजनाको माध्यमबाट समुन्नती तरकारी संकलन तथा प्रशोधन केन्द्रलाई सहज हुने देखिएको छ ।

प्रशोधन केन्द्र स्थापना भएपछि अझ व्यवस्थित तरिकाले बजारमा आउने योजना बनाएको सहकारीले गत मंसिर देखि मात्रै  तरकारीको कारोबार शुरु गरेको हो । अहिले सहकारीले तरकारी संकलन गरि विभिन्न व्यापारीहरुलाई  पठाईरहेको छ भने हरेक शुक्रवार राप्ती गाउँपालिकाको मसुरियामा संचालन हुने तरकारी हाटबजारबाट पनि तरकारीको नियमित बजारीकरण गरिरहेको छ । तरकारीको बजारीकरण गर्न शुरु गरेको छोटो समयमा नै सहकारीले राम्रो कारोबार गरिरहेको र प्रशोधन केन्द्र स्थापना पश्चात् अझ सहज हुने सहकारीका बजार व्यवस्थापक सुरज चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो “हामी अहिले तिना ब्राण्डबाट अनौपचारिक रुपमा बजारमा तरकारी बेचिरहेका छौँ, ब्रान्डको प्रबर्द्धनका लागि छिट्टै एउटा भव्य समारोह गरेर हाम्रो ब्राण्ड नामको आधिकारिक घोषणा गर्ने योजनामा बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे