ढिलोचाँडो माओवादी घटकहरू बीच एकता हुन्छ : महरा
भालुवाङ २८ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले ढिलोचाडो माओवादी घटकहरूबीच एकता हुने बताएका छन्।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी स्थित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै महराले माओवादी घटकहरू बीच एकता अनिवार्य रहेको धारणा राखे। उनले भने, “ढिलोचाडो माओवादी घटकहरू बीच एकता हुन्छ। अलि ढिलो होला, तर हामी एक ठाउँमा उभिनै पर्छ। देशको राजनीति अहिले स्थिर अवस्थामा छैन। कांग्रेस–एमालेको सरकार भए पनि निकै नाजुक अवस्थामा छ। यो अवस्थाबाट माथि उठ्नका लागि माओवादीप्रति आकर्षण बढेको छ।”
उनले एमाले र कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर बढिरहेको उल्लेख गरे। पार्टीले लामो बहसपछि केन्द्रीय समितिको बैठक सम्पन्न गरेको जनाउँदै, बैठकले पार्टीलाई नयाँ माेडमा लैजाने दाबी गरे। उनले भने, “विभाजित मानसिकता भएका माओवादीहरू एक ठाउँमा उभिएपछि हामी २०६४ सालको अवस्थामा फर्किन सक्छौँ। केन्द्रीय समितिको बैठकले एकताको सन्देश दिएको छ, र यो प्रक्रिया विस्तारै अघि बढ्नेछ।”
