अर्गानिक उत्पादनमा ध्यान दिन किसानलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको आग्रह

भालुवाङ २२ माघ । लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यन्न, तरकारी तथा फलफूल उत्पदानकालागि प्रदेश सरकारले बिशेष कार्यक्रम बनाएर सम्वोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । अम्बिकेश्वरी व्यवसायिक तरकारी खेती कृषक समूह संग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यन्न तथा तरकारी उत्पादनमा रासायनिक मल र बिषादीको प्रयोगलाई घटाउदै जैविक मल र जैविक बिषादीको प्रयोग बढाएर अर्गानिक उत्पादन बढाउनेगरी प्रदेश सरकारले सम्वोधन गर्ने बताएका थिए ।
तरकारी बजार तथा शब्जी मण्डिहरुमा विक्रि वितरणका लागि राखिएका तरकारीको बिषादी परिक्षणको व्यवस्था मिलाउनेगरी कार्यक्रम बनाउन समेत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिए । किसानहरुले भारतबाट आउने तरकारीमा अत्याधिक बिषादी हुने गरेको गुनासो गर्ने गरेका छन् । सिमा नाकामा संघीय सरकारले बिषादी परिक्षण गर्दै आएको र त्यो कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समेत पहल गर्ने मुख्यमन्त्री आचार्यले बताए ।
‘बिषादी परिक्षणकालागि सिमानामा व्यवस्था छ । त्यसलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विगतमा पनि पहल लिएको थियो । अहिले पनि हामिले यसमा ध्यान दिन्छौं’ उनले भने, ‘सिमानाबाट हुने तरकारी, दुध, खसीबोका, कुखुराको तस्करी रोक्नका लागि बिशेष पहल भएको छ । अहिले यसमा कमि आएको छ ।’ भैरहवा, कृष्णनगर, नेपालगञ्जको नाकामा बिषादी परिक्षण परिक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानहरुले माग राखेका थिए ।
घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना अम्बापुरका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ । प्रदेश सरकारले जैविक मल, जैविक बिषादी तथा सिंचाइकालागि सहयोग गर्नेगरी थप कार्यक्रम बनाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । किसानहरुसंग प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री राजु खनालले किसानहरुलाई हौसला थप्न आवश्यक रहेको बताएका थिए ।