कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपकर्ताको रकम सुरक्षित छ : राष्ट्र बैंक

सिसहनियाँ २१ माघ । समस्याग्रत घोषणासँगै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापनमा राष्ट्र बैंकबाट खटिएको टोलीले सोमवार राप्ती गाउँपालिका–५ सिसहनियाँ शाखामा अन्तरक्रिया गरेको छ ।
निक्षेपकर्ता, सहकारी संस्थाका प्रतिनिधि, नागरिक समाज, उद्योगी ब्यबसायी ,पत्रकार लगायतको सहभागितमा कर्णाली डेभलपमेन्ट बैक शाखा कार्यालय सिसहनियाँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । बैंक व्यवस्थापनको नेतृत्वका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाह रहनुभएको तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ । अन्तरक्रिया कार्यक्रममा उक्त बैकको व्यवस्थापनको हालको जिम्मेवारी प्राप्त गर्नुभएका समुहका सदस्य एवम राष्ट्र बैकको वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्माले निक्षेपकर्ताको रकम सुरक्षित रहेको बताएका छन् ।
समस्याग्रस्त अबस्थामा रहेको राष्ट्र बैंकले घोषणा गरिसकेकोले निक्षेपकर्ताको रकमलाई क्रमश फिर्ता गरिने समेत विश्वकर्माले बिश्वास दिलाए । हालको अबस्थाको बारेमा राष्ट्र बैंक र नेपाल प्रहरीको सि.आई.बि.ले अनुसन्धान गरिरहेकोले अपचलनमा संलग्नहरु माथि कारर्बाही हुने जानकारी उनले गराएका थिए । यो अबस्थामा यस बैंकका गतिबिधिमा सबै निक्षेपकर्ताहरुको समेत सहयोगको आबश्कता रहेको उनले जोड दिए । र उनले भने, आत्तीहाल्नु पर्ने अवस्था छैन, बचत कर्ताको रकम कुनै पनि हालत मा डुब्दैन त्यसको समाधान का लागि हामी आएका हौ त्यसैले बैकंमा जम्मा गरेको रकम फिर्ता लिन भिडभाड गरिहाल्नु पर्दैन,मेरो आग्रह छ । अहिले कर्णाली डेभलपमेन्ट बैकको व्यवस्थापन नियन्त्रणमा लिई आन्तरिक लेखा परिक्षणको काम भईरहेको समुहका सदस्य विश्वकर्माले जानकारी दिए । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गरिरहेको उनले बताए ।
संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य भईरहेको, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्राप्त भएको समेत अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैकका कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहले जानकारी दिए । नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको यस डेभलपमेन्ट बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ । ‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो खतिवडाको नेतृत्वको ३ सदस्यीय टोलीले २०८१ पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हालेको छ । राष्ट्र बैंकले उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ।
यस विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ छ ।यो बैंकमा करिब ५ अर्ब निक्षेप र ३ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको छ । यस बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको छैन भने निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । कर्णाली डेभलपमेन्ट बैंकको करिव १ अर्व ३३ करोड रुपैया अपचलन गरेको अभियोगमा उक्त बैकका सञ्चालक समितिका पूर्व अध्यक्ष राजेन्द्र बीर राई, पूर्व सि.ई.ओ. दिनेशकुमार रावत र सिईओ निरज बिक्रम शाह माथि राष्ट्र बैक र नेपाल प्रहरीको सिआईबिले अनुसन्धान शुरु गरेको छ । दाङ, बाँके र बर्दिया जिल्लामा गरि कर्णाली डेभलपमेन्ट बैंकको १९ वटा शाखा कार्यालय रहेका छन् । ती शाखा कार्यालयबाट भने हाल सम्म कुनै पनि रकम अपचलन नभएको कुरा राष्ट्र बैकले जानकारी दिदै आएको छ ।