दाङकाे राप्ती गाउँपालिका र चितवनकाे भरतपुर महानगरपालिका बीच भगिनी सम्बन्ध कायम
दाङ १४ माघ । दाङको राप्ती गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले साेमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको भएकाे हाे । गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरेका हुन् । शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो । समझदारी-पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीयस्थलको स्थानीय तवरबाट प्रचार-प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकआपसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् ।
भरतपुर महानगरका प्रमुख दाहालले भगिनी सम्बन्ध कायमसँगै अब दुई पालिकाबीच सहयोग आदान-प्रदान हुने बताइन् । त्यस्तै उनले दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने उल्लेख गरे । राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले राप्तीको सम्भावनालाई उजागर गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गरे । भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्