पब्लिक स्कुल लालमटियाका विद्यार्थीहरूद्वारा खाना महोत्सव
भालुवाङ १४ माघ । दाङको राप्ती गाउँपालिका-२ लालमटिया स्थित टुडिखेलमा सोमबार विद्यार्थीहरुको निकै चहलपहल थियो ।
विद्यार्थीहरु आ–आफ्नै काममा तल्लिन थिए । टुडिखेलको बीचमा राखिएको टेण्ट भित्रका स्टलहरुको अवलोकन गर्नेहरुको खचाखच भिड देखिन्थ्यो । अघिपछिको समयमा भन्दा टुडिखेलमा अलि बढी चहलपहलमा देखिन्थ्यो । यो दृश्य थियो, राप्ती गाउँपालिका-२ लालमटियामा रहेको पव्लिक एजुकेसन एकेडेमीको । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा र सीप विकासका लागि सो दिन विद्यार्थीहरु स्वतःस्र्फुत रुपमा फुड फेस्टिबल (खाना महोत्सव) मा रमाइरहेका थिए । टुडिखेल भित्रको दृश्यले जो कोहीको पनि ध्यान केन्द्रित गर्दथ्यो । त्यहाँको चहलपहल कुनै ठुला लगानीमा आयोजना गरिएका मेला र महोत्सवको भन्दा कम थिएन् । त्यसैले पनि टुडिखेलमा चहलपहलमय बनेको थियो । गज्जबको कुरा के थियो भने विद्यार्थीहरुलाई विभिन्न प्रकारका परिकारहरु बनाउन भ्याईनभ्याई थियो । कोही स्टलमा राखिएका विभिन्न परिकारहरु बेच्नमा बेफुर्सदिला देखिन्थे । त्यहाँ संगित गुन्जिरहेको थियो । विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरिरहेका थिए । त्यसैले पनि धेरैको ध्यान टुडिखेलमा केन्द्रित देखिन्थ्यो । शिक्षक, अभिभावकहरुको पनि सहभागिता र अवलोकनले विद्यार्थीहरुमा थप उत्प्रेरणा बढाइरहेका थियो ।
बिशेष गरी प्रायः विद्यालयहरुमा सैद्धान्तिक शिक्षालाई धेरै जोड दिने गरिन्छ । त्यसैका आधारमा उनीहरुको मूल्याङ्कन गरिन्छ । जसका कारण विद्यार्थीहरु व्यवहारिक र सीपयुक्त ज्ञान आर्जनबाट बन्चित हुने गर्दछन् । यस्तो अवस्थामा विद्यालयले भने विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको उजागरका लागि हरेक विभिन्न समयमा रचनात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्र्तगत यस पटक विद्यालयले विद्यार्थीहरुको आफ्नै सक्रियतामा फुड फेस्टिबल आयोजना गरेको विद्यालयका प्रधानाध्यापक चम्पकराज कार्कीले जानकारी दिनुभयो । “हरेक शुक्रबार वा अन्य बार टायम मिलाएर अतिरिक्त क्रियाकलापको आयोजना गछौं । अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउँछ।” कार्कीले भन्नुभयो,–“विद्यार्थीहरुमा रहेको सीपहरुको उजागर गर्न सकियो भने व्यवहारिक जीवनमा पनि उनीहरु सीयुक्त हुन सक्छन् ।”
कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले रातो, सेतो, निलो, हरियो र पहेँलो कलर गरि ५ वटा स्टल राखेका थिए । जसमा आलु परोठा, मम, जेरी, गाजरको हलुवा, सेल रोटी, पनिर मम, डोनट, सेलरोटी, पकौडा, थारू परिकार जस्तै खरिया, ढिकरी लगायतका दजनौं प्रकारका खाजा तथा तरकारी विक्रि वितरणमा राखेका थिए । उनीहरुले आफैले आफूले बिक्री वितरणका लागि राखेका सामग्रीहरुको मार्केटिङ समेत गरिरहेको देखिन्थ्यो । विद्यार्थीहरुद्धारा तयार गरिएका खाद्य सामग्रीहरु स्टलमा सजावट गरि राखिएको थियो । ती खाद्य सामाग्रीहरु अवलोकन कर्ताहरुले विद्यार्थीहरुले कायम गरेको बजार मुल्य अनुसारको दररेटमा खरिद गरी स्वाद लिनुभएको थियो । विद्यालयका प्रधानाध्यापक चम्पकराज कार्कीको अध्यक्षतामा भएको फुड फेस्टिबलको उद्घाटन विद्यालयका पुर्व प्रिन्सिपल बिक्रान्त ज्ञवालीले गर्नुभएको थियो ।
टुडिखेलमा आयोजना गरिएको सो कार्यक्रमले विद्यार्थीहरुको आत्मनिर्भरता र सीपमूलक शिक्षामा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक कार्कीले बताउनु भयो । विद्यालयको शैक्षिक, प्रशासनिक नेतृत्व प्रधानाध्यापक कार्की र अन्य शिक्षक स्टापहरूले गरिहनुभएको छ । सो विद्यालयले समय- समयमा रचनात्मक र फरक प्रकारका कार्यक्रम सञ्चालनका कारण पनि विद्यार्थी, अभिभावक र समुदायको मन जित्दै आएको छ । त्यसो त यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा अब्बल समेत सावित हुँदै गएका छन् ।