दाङको देउखुरीमा प्रचण्डलाई मालभोग केराको घरी उपहार
देउखुरी १२ माघ । दाङ—देउखुरीको राप्ती गाउँपालिकामा आधारभुत अस्पतालको उद्घाटन गर्न आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई स्थानीय एक किसानले पाकेको मालभोग केराको घरी उपहार दिएका छन् । राप्ती गाउँपालिका–७ निवासी किसान रणप्रसाद सुवेदीले पूर्व प्रधानमन्त्री प्रचण्डलाई केराको घरी उपहार दिएका हुन् ।
विगत आठ बर्षदेखि सुवेदी व्यवसायिक केरा खेतीमा संलग्न रहेका छन् । २५ विगाह जग्गामा उहाँले केरा खेती गरेका छन् । ‘स्थानीय उत्पादनको बजार प्रबद्र्धनमा मद्धत पुगोस भनेर पूर्व प्रधानमन्त्रीलाई केराको घरी उपहार दिएँ ’उनले भने, ‘सरकारले स्थानीय उत्पादन बढाउन अघि सरेका किसानहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाओस् भन्ने चाहना छ ।’ भारतबाट नेपाल बर्षेनी करोडौं मुल्यको केरा आयात हुँदै आएको छ । भारतबाट आउने केरालाई रोक्नसक्ने हो भने स्थानीय केरा उत्पादक किसानलाई फाईदा पुग्ने देखिएको छ ।