लमही महोत्सवमा नायक पल शाहको क्रेज : १७ हजार बढी दर्शकले गरे महोत्सव अवलोकन
लमही १२ माघ । नायक पल शाहको आगमनले शनिबार लमही महोत्सवमा थाम्नै नसकिने गरि भिड देखिएको छ ।
दाङको लमहीमा देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित सातौं देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को तेस्रो दिन माघ १२ गते शनिवार महोत्सवमा आएका शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो । महोत्सबमा नायक शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । महोत्सवमा शाह पहिलो पटक आएकोले पनि महोत्सवको उमंग बैग्लै देखिएको थियो । महोत्सवमा पल शाहले नमस्ते लमही मात्रै के भनेका थिए महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् ।
पल शाहको प्रस्तुतीलाई हेर्न दर्शकको भिडले बृद्धबृद्धा आमाबुवा तथा बालवालिकालाई सम्हाल्न हम्मे हम्मे परेको थियो । महोत्सवको तेस्रो दिन पल शाह सहित चर्चित चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । शनिबार महोत्सवमा आएका चर्चित गायक तथा मोडेल विजय पुन, मोडेल नारायणी खत्री, चर्चित गायिका सिर्जना खत्री हाउडे मायाले पनि आफ्नो प्रस्तुती मार्फत महोत्सवका दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएका थिए । आयोजकका अनुसार महोत्सबमा शनिबार अहिले सम्मकै सबैभन्दा ठूलो भिड लागेको थियो । शनिबार करिव १७ हजार दर्शकले महोत्सव अवलोकन गरेको कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् ।
त्यस्तै भोली माघ १३ गते आइतवार चर्चित गायक रामजी खाँड, गायिका विशाखा शाही लगायका कलाकारहरु आउने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । माघ १० गते देखि २७ गते सम्म सञ्चालन हुने महोसत्सवबाट संकलित रकमले आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने, अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य राखिएको छ । कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।