आशाका किरण संस्थाद्वारा सिसहनियाँ महोत्सवमा खुल्ला रक्तदान : कलाकार देखि दर्शक सम्मले गरे रगत दान
सिसहनियाँ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका-५ कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औंद्योगिक तथा कृषि व्यापार महोत्सवमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिसहनियाँ उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवमा आशाका किरण संस्थाले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ भएको खुल्ला रक्तदान कार्यक्रममा महिला, पुरुष गरी ३० जनाले रक्तदान गरेका छन् । जसमा जीवन दृष्टि पुर्नस्थापना केन्द्र सिसहनियाँका ८ जना, आशाका किरण संस्थाबाट ३ जना, सिसहनियाँ उद्योग वाणिज्य संघबाट १ जना, कलाकारहरूबाट १ जना, सुरक्षा गार्डबाट १ जना र अन्य सर्वसाधारण दर्शकहरूबाट गरि ३० जनाले रगत दान गरेका हुन् । रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्रका प्रमुख मनिषा चन्द ठकुरी र प्राविधिक सिमा वलीले सेवा प्रदान गर्नु भएको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्यको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा महासचिव लोकमणी भुसालले स्वागत र प्रेस संयोजक ओमप्रकाश गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए ।