लमही खानेपानीको २०औँ वार्षिक साधारणसभा सम्पन्न



लमही खानेपानीको २०औँ वार्षिक साधारणसभा सम्पन्न

लमही २१ पुस । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लमहीको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले शनिवार लमहीमा एक कार्यक्रमको आयोजना गरेर सभा सम्पन्न गरेको हो । वार्षिक साधारणसभालाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले संस्था चलाउन आर्थिक पारदर्शिता हुन जरुरी रहेको बताए । संस्थालाई सबैको अपनत्व महसुस हुने गरी अघि बढाउनका लागि निष्पक्ष र समन्यवकारी भूमिका आवश्यक रहेको बताएका थिए ।

लमही खानेपालीले कष्टकर यात्रा गर्दै २०औँ वर्ष पार गरेको सुखद् अवसरमा ‘एक घर एक धारा’ भन्ने राज्यको नीति भएको भन्दै न्यौपानेले भने, ‘सबै उपभोक्ताको घरमा खानेपानीको धारा जोडिएको छ वा छैन यो कुरालाई ध्यानमा राखेर संस्थाले आगामी योजना बनाउन आवश्यक छ ।’ अहिले पनि दाङमा ४४ प्रतिशत उपभोक्ता खानेपानीको पहुँचभन्दा बाहिर रहेको बताए । ‘सबैले धारा जोड्ने अनि बल्ल योजना माग गर्दा हामीलाई पनि योजनाको काम गर्न सहज हुन्छ होइन भने योजना माग मात्र हुने काम गर्न नसकिने हुन्छ’, उनले भने ।

कार्यक्रममा भालुबाङ खानेपानीका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्य, घोराही खानेपानीका बरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, प्रगतिनगर सहरी खानेपानीका अध्यक्ष भरतप्रसाद पाण्डे, होटल व्यवसायी संघ लमहीका अध्यक्ष नारायणप्रसाद भुसाल, लम्की खानेपानीका अध्यक्ष तेजबहादुर चलाउने, लमही खानेपानीका पूर्व अध्यक्ष कर्णबहादुर बुढाथोकी, बिमबहादुर केसी, पत्रकार राधेश्याम गुप्ता, राष्ट्रिय जनमोर्चा लमहीका अध्यक्ष हरिबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभाकर घिमिरे, नेकपा एकीकृत समाजवादीका वीरबहादुर केसी, रास्वपा दाङ–१ का सभापति मोहन आचार्य, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्तराज शर्मा, नेकपा एमाले दाङ–१ का क्षेत्रीय उपसंयोजक धुपनारायण चौधरी, नेपाली कांग्रेस दाङ–१ का सहसचिव प्रकाशकुमार जिसीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिक साधारणसभामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै संस्थाले तीन कर्मचारीलाई सम्मान गरेको छ । सम्मान हुनेमा मिटर रिडर तुलसीराम चौधरी, लेखा शाखाकी सुवर्णा चौधरी, पलम्बर सितराज चौधरीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा लमही खानेपानीका उपभोक्ता पिताम्बर गैरेले पानीको महत्वसम्बन्धी कविता वाचन गरेका थिए । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लमहीका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष सीतादेवी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त आचार्यले गरेका थिए ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयनमा सहमति नभएपछि मनिराम केसीको संयोजकत्वमा तीन जना निर्वाचनमण्डल गठन गरिएको छ । जसको सदस्यमा भेषराज पोख्रेल र भानु जोशी रहेका छन् । निर्वाचनमण्डलले निर्वाचनका लागि पुस २१ गते आइतवार बैठक बोलाएको र बैठकपछि समयको निर्धारण गर्ने निर्वाचनमण्डलका संयोजक केसीले जानकारी दिएका छन् ।

गोरक्ष राष्ट्रिय दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे