शिक्षक अधिकारीले गरे जन्म दिनमा कक्षा प्रथम हुने ६ जना विद्यार्थीलाई स्टेशनरी सहयोग
सिसहनियाँ ११ पुस । दाङको देउखुरीमा एक शिक्षकले आफ्नो जन्म दिन फरक तरिकाले मनाएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयका शिक्षक हेमराज अधिकारीले आफ्नो ५६ औं जन्म दिनका अवसरमा कक्षा प्रथम हुने ५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तरगत स्टेशनरी सहयोग गरेका छन् । शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ५ सम्म कक्षा प्रथम हुने ती विद्यार्थीहरुलाई अधिकारीले आफ्नै हातबाट स्टेशनरी प्रदान गरेका हुन् ।
विद्यालयमा नयाँ जिम्मेवारी पाएका प्रधानाध्यापक विनोद कुमार गुप्ताको पहलमा स्थापना गरिएको राहत कोष स्थापना गरि विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थी तथा अभिभावकहरूलाई कमजोर आर्थिक अवस्थाका कारण बिरामी वा दुर्घटना भएको अवस्थामा उपचार गर्न समस्या भएको अवस्थामा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूबाट विद्यार्थी राहत कोषमा स्वैच्छिक रुपमा रकम जम्मा गरी सहयोग गर्ने साथै आफ्नो जन्मदिनको उपलक्ष्यमा स्वेच्छा अनुसार आर्थिक सहयोग संकलन गरी त्यस्ता विद्यार्थी तथा अभिभावकहरूको उपचारको लागि रकम सहयोग गर्ने अभियान अन्तरगत शिक्षक अधिकारीले सो स्टेशनरी सहयोग गरेका हुन् ।
साथै शिक्षक अधिकारीले केहि रकम राहतकोषमा पनि जम्मा गरेका छन् । अधिकारीको जन्म दिन पुस १० गते बिदाका दिन परेकाले बिहिवार मात्र उनले आफ्नो जन्म दिन मनाएका हुन् । यसै क्रममा विहीवारनै सोही विद्यालयका पूर्व प्रधानाध्यापक कृष्ण गिरीद्वारा रचना गरिएको कविता संग्रह “पसिनाको पोको” को केही थान पुस्तक सोही विद्यालयका प्रधानाध्यापक विनोदकुमार गुप्ता मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको छ ।