स्थानीय कागज प्रयोग गर्न मुख्यमन्त्रीलाई राप्तीका अध्यक्ष विष्टको आग्रह



स्थानीय कागज प्रयोग गर्न मुख्यमन्त्रीलाई राप्तीका अध्यक्ष विष्टको आग्रह

सिसहनियाँ ७ पुस । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सरकारका सबै मन्त्रालयहरूमा स्थानीय कच्चापदार्थद्वारा उत्पादित नेपाली हाते कागज अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

आइतबार मुख्यमन्त्री कार्यालयमै पुगेर अध्यक्ष विष्टले वडा नं. ४ पिपरखुटीमा स्थापना भएको नेपाली हाते कागज उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्न यस्तो आग्रह गरेका हुन् । अध्यक्ष विष्टले नेपाली कागज उद्योगले स्थानीय बावियो (खर) र लोक्ताको उपयोग गरेर वातावरणमैत्री उत्पादन गरिरहेको बताउँदै स्वदेशी उत्पादनलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । “यसले स्थानीय उद्यमशीलता, रोजगारी सिर्जना र वातावरण संरक्षणमा सहयोग पुग्छ,” उनले भने।

मुख्यमन्त्री आचार्यले नेपाली कागज जस्ता स्वदेशी र वातावरणमैत्री उत्पादनलाई प्राथमिकता दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। साथै मुख्यमन्त्री आचार्यले स्थानीय उद्यमशीलता र नवप्रवर्तनलाई सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै यसबारे आवश्यक पहल गर्ने आश्वासन दिए।राप्ती गाउँपालिका वडा नं. ४ पिपरखुटीमा उद्योगी डम्बरबहादुर जिसीले स्थापना गरेको नेपाली हाते कागज उद्योगमा हाल २० जना स्थानीयवासीले रोजगारी पाएका छन्। पालिकाले उद्योगको स्तरवृद्धिका लागि विभिन्न उपकरण र सहजीकरणमा निरन्तर सहयोग गर्दै आएको छ।

उद्योगले उत्पादन गरेको नेपाली हाते कागजलाई स्वदेशी बजारमा प्रवर्द्धन गर्ने र सरकारी निकायहरूमा प्रयोग गराउने लक्ष्य रहेको अध्यक्ष विष्टले जानकारी दिए । साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र उद्योगी डम्बरबहादुर जिसीकाे समेत उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे