लुम्बिनी प्रदेशलाई अपाङ्गमैत्री बनाउन हामी प्रतिबद्ध छौँ : सभामुख घर्ती



लुम्बिनी प्रदेशलाई अपाङ्गमैत्री बनाउन हामी प्रतिबद्ध छौँ : सभामुख घर्ती

देउखुरी २७ मंसिर । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेशलाई सबै दृष्टिकोणबाट अपाङ्गतामैत्री बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितीले आज बिहिबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको लुम्बिनी प्रदेशमा निर्माणधिन भौतिक संरचनाहरुको पहुँच युक्तता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घर्तीले अपाङ्गता भएका नागरिकहरुको हक अधिकारका लागि सामाजिक न्याय सम्बन्धी विधेयक नै बनाउन आवश्यक रहेको बताए । उनले विधेयक निर्माणका लागि सरकार र प्रदेशसभा सदस्यहरु संग आवश्यक छलफल अगाडी बढाउने बताए । सभामुख घर्तीले अब सरकारले बनाउने सबै सरकारी भवनहरु अनिवार्य रुपमा अपाङ्गतामैत्री बनाउन कानुन नै बनाएर कडाईका साथ लागु हुन आवश्यक रहेको बताए । यस्तै उनले प्रदेशसभालाई पनि अपाङ्गतामैत्री बनाउन सरकार संग दोभासेको व्यवस्था गर्न एक जना दरबन्दी माग गरेको बताए ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट आतिथीको आसनबाट बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले संविधानले सुनिश्चत गरेका प्रावधानहरुको कायान्वयन गर्न र ७ वटै प्रदेशमै नमुना बन्ने गरी २० बर्षे योजना रहेकाले उक्त कार्यका लागि कार्यक्रमले मार्गदर्शन गरेको बताए । उनले प्रदेश योजना आयोग सरोकारवालाहरुसँग समन्वय गरी कायान्वनको लागि आफूहरु प्रतिबद्ध रहेको बतउनु हुँदै दोस्रो पंचबर्षीय योजना निर्माणको चरणमा रहेको हुँदा उक्त योजना समावेश हुनेमा ढुक्क हुन बताए ।

महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका बरिष्ठ उप—सचिव शारदा बस्यालले अपाङ्गतामैत्री संरचना निर्माण लगायतका लागि प्रदेश अपाङ्गता सम्बन्धी ऐन निर्माणमा सकारात्मक रहेको र केही कानुनी व्यवस्थाहरु मिलाउन र कानुनी व्यवस्था कार्यान्वयनको लागि सचेतनाका कार्यक्रमहरु आवश्यक रहेको बताइन् । उनले अपाङ्गता भएका नागरिकहरुको समस्या, आवश्यकताप्रति सरकार गम्भीर रहेको बताउँदै उनले नितिगत देखि ब्यबाहारिक बिषयमा समेत सरोकारवाला निकायहरु संग छलफल गर्ने बताइन् ।

यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सार्वजनिक भौतिक संरचनाहरु सबै जना पुग्न, प्रवेश गर्न, घुमफिर गर्न र उपभोग अर्थात प्रयोग गर्न सक्ने बन्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । उनीहरुले अपाङ्गता भएका नागरिकहरु पनि आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताएका थिए ।  सो अवसरमा अपाङ्गताको विभिन्न प्रकृतिबाट प्रतिनिधित्व हुने गरी सुझाव प्रस्तुत गरिएको थियो । जसमा बहिरा अपाङ्गता भएका व्यक्ति अजयकुमार शर्मा, दृष्टिविहिन भावुकजंग थापा, बौद्धिक अपाङ्ग अभिभावक गोकणर् आचार्य र शारीरिक अपाङ्गता भएका व्यक्ति चिन्तामणि पौडेलले अपाङ्गता मैत्री भौतिक संरचनाहरु नहुँदा भोग्नु परेको समस्याहरुको बारेमा आ—आफनो अनुभव सहित अपाङ्गतामैत्री बनाउन ध्यानकर्षण सहितको सुझाव दिएका थिए ।

कार्यक्रममा राजधानी निर्माण योजना कार्यान्वयन इकाइका इन्जिनियर प्रदिप भट्टराईले प्रदेश सरकारले बनाइरहेको भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउन गरिएको योजनाका बारेमा प्रस्तुतिकरण गरेका थिए । भने राष्ट्रिय अपाङ्ग महासंंघ नेपालको तर्फबाट जितलाल ढकालले सबैका लागि पहुँच शिर्षकमा अपाङ्गतामैत्री संरचना बारेमा प्रस्तुतिकरण गरेका थिए । यस्तै प्रदेश राजधानी निर्माण योजना कार्यान्वयन इकाइका प्रमुख इश्वर जोशीले अन्र्तक्रिया कार्यक्रममा आफूहरुलाई फलदायी मार्गदर्शन प्राप्त भएकाले आएका सुझावहरु कार्यान्वयनको लागि प्रतिबद्ध समेत रहेको समेत बताए ।

कार्यक्रमा लुम्बिनी प्रदेशका १२ बटै जिल्लाका विभिन्न प्रकृतिका अपाङ्गता क्षेत्रका अगुवा, अभियानकर्मीहरु र सरोकारवाला निकायहरु गरी करिब ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममो संचालन महासंघका प्रदेश व्यवस्थापक धिरेन्द्र बिकले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे