राप्ती- १ बगासोतीका २४ किसानहरुलाई पशुपालन व्यवस्थापन तालिम प्रदान
भालुवाङ २७ मंसिर । राप्ती गाउँपालिका वडा नम्बर १ बगासोतीका २४ किसानहरुलाई पशुपालन व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङ सँगको समन्वयमा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई पशुपालन व्यवस्थापन तालिम प्रदान गरिएको छ।
परियोजनाको खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका किसानहरुलाई पशुपालन व्यवस्थापन तालिम प्रदान गरिएको हो। तालिमको सहजीकरण संस्थाका कृषि अधिकृत तथा सामाजिक परिचालक ले गरेका थिए। तालिममा स्थानीय किसानहरुलाई बाख्रा तथा कुखुरा उत्पादन गरेर आफ्नो परिवारको आम्दानी बढाएर आर्थिक रूपमा आत्मनिर्भर बनाउने तरिकाका बारेमा सिकाइ प्रदान गरिएको थियो।
वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा वि. सं. २०७४ देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको संस्थाका दाङका कार्यक्रम संयोजक शशांक आचार्यले बताए।