आशाका किरण संस्थाद्धारा रोल्पाका मृतक ५ घरपरिवारलाई राहत वितरण



आशाका किरण संस्थाद्धारा रोल्पाका मृतक ५ घरपरिवारलाई राहत वितरण

भालुवाङ २३ मंसिर । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका करिण संस्थाले रोल्पा पुगेर राहत वितरण गरेको छ ।

गत मंसिर १६ गते रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गामका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको थियो । सोही परिवारलाई संस्थाले गाउँमै पुगेर राहत वितरण गरेको छ । संस्थाको कोषबाट २० हजार र बाहिरी व्यक्ति तथा संघसंस्थाबाट संकलित २७ हजार रुपैयाँ गरि कुल ४७ हजार रुपैयाँ मध्ये बाट खर्च कटाएर बचेको ४० हजार बराबरको खाद्यन्न तथा लत्ताकपडा वितरण गरेको छ ।

संस्थाले प्रति घर ८ हजार रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, कापी, पेन्सिल, कटर, इलेजर, जुत्ता, मोजा, टोपी, व्याल्ङकेट र न्यानो लुगा सहयोग गरेको छ । वडा अध्यक्ष उडवीर घर्तीमगरको रोहवरमा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार सुर्यकिरण केसी, वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, उपाध्यक्ष श्री जिसी र सदस्य पवित्रा विश्वकर्माले सो राहत सामाग्री वितरण गरेका हुन् । राहत वितरण कार्यक्रममा सुनछहारी गाउँकार्यपालिका सदस्य मनबहादुर विक, ३ नम्बर वडा सचिव ओविन्द्र शाही, वरिष्ठ प्रहरी हवल्दार शोभाकर डिसी, प्रहरी सहायक हवल्दार रनबहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो ।

गत मंसिर १६ गते आइतबार बिहान करिब ९ः ५० बजे तिर सुनछहरी गाँउपालिका वडा नं.–३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डो खनि पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को आई काम गर्दै गरेका ५ जनालाई पुर्दा मृत्यु भएको थियो ।मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नं. ३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार, सोहि ठाउँका बर्ष ३१ को ओम परियार, बर्ष ४० की सुबित्रा परियार, बर्ष २७ की आईती परियार र बर्ष ६६ को देबिराम परियार रहेका छन् ।

सुनछहरी गाँउपालिका वडा नं.– ३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि एल.बि.एण्ड पल्लभी जक्सन जेभि निर्माण सेवाले ठेक्का पाएको र निर्माण कार्यका लागि ७ जनाले काम गर्दै गरेको अबस्थामा माथिबाट माटोको ढिस्को खस्दा २ जना भाग्न सफल भएको र ५ जनालाई माटोको ढिस्कोले पुरेपछि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे