‘राम्रो स्कुलमा पढाउन कै लागि शहर पस्नुपर्ने अवस्था छैन, अब गाउँ मै त्यो सुविधा पुर्याएका छौं’
अर्घाखाँची २२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन् । तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पुर्याइरहेको सन्दर्भ केलाउदै मुख्यमन्त्री आचार्यले शहर केन्द्रित भएकाहरु अव गाउँ फर्कन जरुरी रहेको बताएका हुन् ।
शनिबार मालारानी गाउँपालिका–२, मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ति महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधा कै लागि शहर पसेकाहरु अव गाउँ फर्कनुपर्ने धारणा राखे । ‘हामीले गाउँमा विकास पुर्याेयौं । सुविधा पुग्यायौं । अहिले त्यही सुविधाकालागि शहर पसेकाहरु गाउँ फर्कन जरुरी छ’उनले भने,‘अव राम्रो स्कुलमा पढाउन कै लागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन् । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अव गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।’
गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरुले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राखे । ‘राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यममा जोडिएर व्यवसायिक बन्नुपर्छ । विदेशमा जतिको कमाई स्वदेशमा बसेर पनि गर्न सकिन्छ’उनले भन्नुभयो,‘अव दलका कार्यकर्ताहरु उत्पादनसंग जोडिनैपर्छ । आफैले उदाहरण पेश नगर्दा सम्म समाजको विश्वास जित्न सकिदैन ।’ सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधारगर्न सबैपक्ष गम्भिर बन्नुपर्ने बताए ।
‘रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्नसक्नुपर्छ’उनले भने,‘गत बर्षको एसइइको नजिता सन्तोषजनक भएन । यसपालीको नजिता सुधारगर्ने बारेमा सबै चिन्तित र संवेदनशिल बन्नैपर्छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।