स्वस्थ समाज बनाउन जैबिक उत्पादन तर्फ ध्यान दिनुस् :अध्यक्ष बिष्ट
देउखुरी २२ मंसिर । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले स्वस्थ समाज बनाउन जैबिक उत्पादन तर्फ ध्यान दिन किसानहरू संग आग्रह गरेका छन् । दाङ-देउखुरीको सिसहनियाँ साना किसान कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका-५, सिसहनियाँको सातौँ बार्षिक साधारणसभा शंकर मावि पिपरीमा उद्धघाटन गर्दै अध्यक्ष बिष्टले सो कुरा बताएका हुन् ।
उनले अहिले कृषिजन्य उत्पादनमा बढी रसायिन मलको प्रयोग भए कै कारण विभिन्न प्राणघातक रोगहरू लागेर धेरै मानिसहरूको अकालमा ज्यान जाने गरेको बताउँदै अध्यक्ष बिष्टले प्राङगारिक मलको प्रयोग गरी उत्पादन तर्फ ध्यान दिन आग्रह गरे । उनले सहकारीमा लाग्ने हरेक सदस्यहरूले गोठेमल, कम्पोष्टमल तथा प्राङगारिक मलको प्रयोग गरेर कृषिजन्य उत्पादन गरेर स्वस्थ समाज निर्माण गर्न सबै किसान संग आग्रह गरे । उनले पालिकालाई बिसादी र रसायिनक मल प्रयोग रहित बनाउन स्थानीय सरकार सहयोग गर्न तयार रहेकोले सबै किसानहरू गम्भीर हुन आग्रह समेत गरे ।
संस्थाकी अध्यक्ष बिष्णु गुरुङ्गको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी नेपाल कृषि केन्द्रीय संघ लिमिडेटका लेखा समिती सदस्य चिरञ्जीवी केसीले तत्कालिन समयमा कृषि विकास बैंकले बैंकको पहुँच देखि टाढा रहेका किसानलाई जोड्न, छरिएर रहेका पुँजीलाई एक ठाउँमा जम्मा गर्न र किसानका जिवनस्तर उकास्न साना किसान विकास आयोजनाका रूपमा कार्यक्रम लागू भएको बताए । उनले तत्कालिन सरकारले साना किसान कार्यक्रम प्रभावकारी भएकोले त्यस बेला जनतालाई यो कार्यक्रम हस्तान्तर समेत गरिएको उल्लेख गरे ।
संस्थाकी कार्यसमिती सदस्य नारायणी पोख्रेलको स्वागत मन्तव्यबाट शुरू भएको साधारणसभामा संस्थाकी अध्यक्ष बिष्णु गुरूङ्गले बार्षिक प्रतिवेदन र संस्थाका प्रबन्धक मिनबहादुर चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा राप्ती गाउँपालिका-८, नम्बर वडाका कार्यबाहक वडाध्यक्ष चम्फा पुन, उरहरी साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष अर्जुन बस्नेत, साना किसान कृषि सहकारी संस्था लिमिटेड सतबरियाका अध्यक्ष तेजमणि ज्ञवाली, लालमटिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सीता अधिकारी र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी शेयर सदस्य बबिता गिरीले गरेका थिइन् ।