राप्तीमा थारु गीतको माध्यमबाट लैंगिक हिंसा अन्त्यका लागि सचेतना प्रदान
भालुवाङ १८ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर स्वीजरल्याण्डमा सोमबार लैंगिक हिंसा अन्त्यका लागि थारु गीतको माध्यमबाट सचेतना प्रदान गरिएको छ ।
राप्ती गाउँपालिकाको समन्वय तथा नमुना कृषक समुहको व्यवस्थापनमा नामसालिङ सामुदायिक विकास केन्द्र दाङले थारु गीतको माध्यमबाट सचेतना प्रदान गरेको हो । प्रतियोगीको रूपमा सहभागी महिला दिदीबहिनीहरूले विभिन्न कारणबाट अहिले पनि समाजमा हिंसा नरोकिएकोले सर्वप्रथम महिला पुरूष बराबर हुन् भने शिक्षा दिन जरूरी रहेको गीतको माध्यमबाट संदेश दिन खोजेका थिए । उनीहरूले हिंसा न्युनीकरणका लागि आफू र आफ्नो परिवारबाट सुरूवात गर्नुपर्ने गीतमा समेटेका थिए ।
नामसालिङ सामुदायिक विकास केन्द्रका दाङ जिल्ला कार्यक्रम संयोजक शशांकबाबू आचार्यको अध्यक्षतामा लैंगिक सचेतना सम्बन्धी थारु भाषिक गीत प्रतियोगितामा सगरमाथा कृषक समूह बिजौरी प्रथम, नमुना कृषक समूह बसन्तपुर दोस्रो, सिर्जनशील कृषक समूह भानपुर तेस्रो र मेलमिलाप कृषक समूह अर्नहनपुरले सान्त्वना स्थान हासिल गरेका छन् । बिजेताहरूलाई प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएको थियोे । प्रतियोगिताको निर्णायकको भुमिका शिक्षकहरु जीवराज शर्मा, अनुपा चौधरी र पत्रकार ओमप्रकाश गुप्ताले निभाएका थिए ।
सो अवसरमा वडा सदस्य शान्तप्रसाद चौधरी, बसन्तपुर गाउँ अगुवा जलिराम चौधरी, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुशुम चौधरी, पत्रकार ओमप्रकाश गुप्ता, शिक्षक जीवराज शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नमुना कृषक समुहका सदस्य हिरा पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्मबहादुर यादवले गरेका थिए ।