स्माईल डेन्टल क्लिनिक भालुवाङले विद्यार्थीहरुको निशुल्क दाँत चेकजाँच गर्दै
भालुवाङ १८ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्माईल डेन्टल क्लिनिक विद्यार्थीहरुको निशुल्क दाँत चेकजाँच गर्दै आएको छ ।
बालबालिकाहरुलाई मुख तथा दाँत कसरी सफा राख्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने उद्देश्यका साथ राप्ती गाउँपालिकाको सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुगेर डेन्टल क्लिनिकले निशुल्क रुपमा शिविर सञ्चालन गर्ने गरेको सञ्चालक कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
हाल डेन्टल क्लिनिकले राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको मुनलाइट इङलिस बोडिङ स्कुलमा ३ सय ५० जनाको, चन्द्रज्योती बोडिङ स्कुलमा ५ सय जना र गोरखा आइडियल स्कुलमा ७ सय ५० जना विद्यार्थीको मुख तथा दाँत चेकजाँच गरेको छ । हाल सम्म परिक्षण भएका विद्यार्थीहरु मध्ये ७५ देखि ८० प्रतिशत विद्यार्थीहरुमा किराले दाँत खाएको समस्या रहेकाे शिविरमा सहभागी दाँत तथा मुख रोग डा.रक्षा कार्कीले बताएकी छिन् । बालबालिकाहरुले बढी मात्रमा गुलियो पदार्थ खाने, ब्रस नगर्ने, गरिहाले पनि सहि तरिकाले गर्न नजान्ने जस्ता कारण किराले दाँत खाने समस्या हुने गरेको डा. कार्कीले बताइन् ।
यता विद्यालयमै आएर विद्यार्थीहरुले मुख तथा दाँत निशुल्क रुपमा चेकजाँच गराउन पाएकोमा उनीहरु समेत खुसी भएका छन् । उनीहरु दाँत निशुल्क चेक गराउन पाउनुका साथै ब्रस गर्ने तरिकाका विषयमा जान्ने अवसर पाएको बताएका छन् । शिविरमा स्माईल डेन्टल क्लिनिकमा कार्यरत डा.रक्षा कार्की, असिस्टेन्ट साधना चौधरी र सञ्चालक कृष्ण श्रेष्ठको टिमले शिविरमा विद्यार्थीहरुको दन्त परिक्षण गरेका थिए ।