परिवार भित्र सँगै बसेर खाने वातावरण मिलाउन आवश्यक छ : प्रहरी उपरीक्षक तिमिल्सिना
भालुवाङ १८ मंसिर । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले घर परिवार भित्र सँग बसेर खाने वातावरणको सिर्जना नहुँदा सम्म लैंगिक हिंसा अन्त्य हुन नसक्ने बताएका छन् ।
सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वयमा इलाका प्रहरी कार्यालय भालुवाङ र राप्ती गाउँपालिकाले सोमबार राप्ती गाउँपालिका– ८ नयाँबजारमा आयोजना गरेको लागू औंषध दुव्र्यशन तथा लैंगिक हिंसा नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक तिमिल्सिनाले सो कुरा बताएका हुन् । प्रहरी उपरीक्षक तिमिल्सिनाले अहिले पनि घरपरिवारमा श्रीमानले श्रीमती कुट्ने, सासुले बुहारी कुट्ने जस्ता घटना नरोकिएको बताउँदै त्यसका लागि अब आफू र आफ्नो परिवार सचेत हुन आवश्यक रहेको बताएका छन् ।
उनले समाजमा हुने हरेक खाले हिंसालाई सहन नहुने र त्यस्ता हिंसा गर्ने जो कोहीलाई कानुन अनुसार कारवाही हुने हुँदा प्रहरीलाई १०० नम्बरमा कल गर्न सकिने वा आफ्नो वडा कार्यालय, गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न सकिने बताएका छन् । त्यस्तै उनले अहिलेको समयमा लागू औंषध दिनानुदिन जडा गाडेर रहेको र युवा पिढीहरू दलदलमा पसेकाले यसको नियन्त्रणका लागि सवैले आ–आफ्ना छोराछोरीलाई सुधार गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।
सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा वसन्त पुनले लागू औंषधको परिभाषा, यसका लक्षण, बच्ने तरिका र वर्तमान अवस्थाका विषयमा जानकारी गराएका थिए । राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा प्रहरी कार्यालय लमहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश भुसालले गरेका थिए ।