महाप्रभु साकोस लालमटियाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न
भालुवाङ १२ कार्तिक । दाङ—देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका-२, लालमटियाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन आज सोमबार मुनलाइट मावि लालमटियाको प्रागणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रूकमाङगत ज्ञवालीको अध्यक्षता एवम् सहकारी विकास बोर्डका लुम्बिनी प्रदेशका उपाध्यक्ष टिकाराम पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारणसभा तथा अधिवेशनको उद्धाटन गर्दै प्रमुख अतिथी सहकारी विकास बोर्डका लुम्बिनी प्रदेशका उपाध्यक्ष पोख्रेलले सहकारी संस्थाहरुले भावी योजनाहरु बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले सहकारी संस्थाहरु बिधि, पद्धति र प्रबिधिमा रहेर सञ्चालन हुनुपर्ने बताए । उनले सहकारी संस्थाहरुको साधारणसभामा उद्धाटन सत्रलाई छोट्याएर बन्दसत्रमा शेयर सदस्यहरु संग ब्यापक छलफल गर्ने थलोको रुपमा विकास गर्न सुझाब समेत दिए ।
संस्थाका कार्य समिती सदस्य केशबराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा संस्थाका अध्यक्ष रूकमाङगत ज्ञवालीले संस्थागत प्रतिवेदन, संस्थाका सचिव हरिप्रसाद भुसालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्धाटन सत्रलाई लुम्बिनी प्रदेशका सहकारी रजिष्टार मधुकृष्ण पौडेल र जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रबार भण्डारी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्धाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिप्रसाद भुसालले गरेका थिए ।
संस्थापक अध्यक्ष किरण भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिती निबिरोध निर्वाचित
यसैबीच सभाको बन्दसत्रले संस्थाका संस्थापक अध्यक्ष किरण भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिती निर्बिरोध निर्वाचित भएको छ । जसको उपाध्यक्षमा खुमबहादुर गुरुङ्ग, सचिवमा रूकमाङगत ज्ञवाली, कोषाध्यक्षमा बिबी थापा, सदस्यहरुमा हरिप्रसाद भुसाल, माधव शर्मा, सुर्य सुवेदी, सावित्रा पाण्डे र पुष्पा बैध रहको निर्वाचन समितीका संयोजक मनबहादुर पुनले जानकारी दिए ।
त्यसैगरी सभाको बन्दसत्रले आरके पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिबेक्षण समिती गठन गरेको छ । जसको सदस्यहरुमा कमला बेल्बासे र युबराज भुसाल रहनु भएको निर्वाचन समितीले जनाएको छ ।