गुणस्तरीय सामाग्रीकाे प्रयोग गर्न निर्माण व्यवसायीलाई राप्तीका अध्यक्ष विष्टकाे निर्देशन
मसुरीया १२ कार्तिक । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले साेमबार निर्माणाधीन बाटाेकाे स्थलगत अनुगमन गरेका छन्।
अध्यक्ष विष्टले गाउँपालिकाकाे वडा नं. ३ नयाँ बस्ती स्थित पक्की नाला सहित निर्माणाधीन बाटाेकाे स्थलगत अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले स्थानीय बासिन्दाहरुकाे कुनै पनि गुनासो नआउने गरि गुणस्तरीय निर्माण सामाग्रीकाे प्रयोग गरि काम गर्न निर्माण व्यावसायीलाई निर्देशन दिए । उनले काम गर्ने क्रममा कतै गुणस्तरहिन सामाग्री प्रयोग भएको पाइएमा कानुन अनुसार कार्वाहीका लागि आफुले सम्बन्धित निकायमा सिफारिस गर्ने समेत बताए ।
त्यस्तै अध्यक्ष विष्टले सडक डिभिजन कार्यालय दाङका इन्जिनियरलाई नियमित रूपमा कामको अनुगमन गर्न आग्रह गरे । राप्ती चक्रपथ अन्तर्गत साे क्षेत्रमा सडक डिभिजन कार्यालय दाङ मार्फत करिब एक कराेडकाे लागतमा पक्की नाला सहित १२ सय मिटर बाटाे निर्माण कार्य थालिएको छ।