राप्तीमा भूमि, कृषि सम्बन्धी सरोकारवाला निकायसँग सम्वाद
मसुरीया १२ कार्तिक । दाङको राप्ती गाउँपालिकामा साेमबार भूमि, कृषि सम्बन्धी सरोकारवाला निकायसँग सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक आत्मनिर्भर सेवा केन्द्र लमहीकाे आयोजना तथा राप्ती गाउँपालिका दाङ र युएन ह्याबिटाटकाे समन्वयमा साे कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले कृषि र भूमिसँग सम्बन्धित चुनौतीहरूको समाधान गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु पर्ने बताइन् । त्यस्तै उनले पालिकाले भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुकाे लागि लालपुर्जा दिने उदेश्यले जग्गाको नापजाँच गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी गराइन् ।
स्थानीय कृषकहरूलाई सक्षम र सशक्त बनाउन भूमि व्यवस्थापन र कृषि प्रविधिको पहुँच पुर्याउने विषयलाई पालिकाले विशेष प्राथमिकतामा राखेको बताउँदै उपाध्यक्ष चौधरीले त्यसको लागि सबैको साथ र सहयोग हुनुपर्ने बताइन् । कार्यक्रममा युएन ह्याबिटाटका बन्दना सिन्हा र समुदायलाई आत्मनिर्भर सेवा केन्द्रका रेमन्त चाैधरीले करार खेती,भूमि बैंककाे आधार लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउनु गराएका थिए ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, गाउँ कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुख, गाउँ अगुवा, कृषक, पत्रकारहरु लगायतको सहभागीता रहेको थियो । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जगबीर चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सेवा केन्द्रकी भूमि, कृषि कार्यक्रम अधिकृत जुगमानी चाैधरीले गरेकी थिइन् ।