दाङ क्षेत्र नम्बर १ काे विकासमा कुनै कसर बाँकी रहने छैन : सांसद चाैधरी
देउखुरी १२ कार्तिक । प्रतिनिधिसभा सदस्य माननीय मेटमणी चौधरीले दाङ क्षेत्र नम्बर १ को विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । आज साेमबार दाङ-देउखुरीको लमहीमा बनकट्टी-रनियापुर सडक, समुन्नति महिला सहकारी भवन लगायतका आयोजनाहरूको अनुगमन गर्दै उनले यस्ताे बताएका हुन् ।
प्रतिनिधिसभा सदस्य चाैधरीले जनताको समस्यालाई प्रमुखता साथ सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले विभिन्न विकास योजनाहरूको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरूलाई निर्देशन समेत दिए । उनले आयोजनाहरू समयमै सम्पन्न गरी जनताले सास्ती भोग्न नपर्ने गरी गुणस्तरीय बनाउन जोड दिए ।
पूर्व शहरी विकास मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य चाैधरीले महिलाको सशक्तिकरण र आर्थिक समृद्धिका लागि सहकारी संस्थाहरूको भूमिकालाई सुदृढ गर्न राज्यको सहयोग आवश्यक रहेको बताए । उनले जनताका आवश्यकता र हितलाई प्राथमिकतामा राखि, विकासको गतिलाई तीव्रता दिन सम्बद्ध निकायहरूसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।
साथै केही दिनअघि राप्ती नदीमा डुबेर निधन भएकी बालिकाको परिवारलाई उनले भेटी समवेदना प्रकट गरे। सांसद चाैधरीले शोकाकुल परिवारप्रति सहानुभूति व्यक्त गर्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन स्थानीय समुदायलाई सचेत रहन आह्वान गरे । उनले राप्ती नदी किनारको सुरक्षा र आपतकालीन उद्धार प्रणालीलाई सुदृढ बनाउन पहल गर्ने आश्वासन पनि दिए।
त्यस्तै सांसद चाैधरीले यसरी विकास निर्माणका साथै जनताको सुरक्षालाई पनि समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँदै उनले दाङ क्षेत्र नम्बर १ को समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत दोहोर्याए ।