प्रदेश सरकारले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छ : स्वास्थ्य मन्त्री सारू



प्रदेश सरकारले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छ : स्वास्थ्य मन्त्री सारू

भालुवाङ ९ कार्तिक । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सरकारले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । उनले प्रदेशका सबै नागरिक सम्म सेवा पुर्‍याउने दिशामा प्रतिबद्ध रहेको बताए ।

शुक्रबार तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजनामा आयाेजित स्थानीय परियोजना सल्लाहकार समितिकाे बैठकमा बाेल्दै मन्त्री सारुले आँखा मानव अंगहरु मध्ये महत्त्वपूर्ण अंग भएकोले यसको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए । त्यस्तै मन्त्री सारुले तिलगंगा सर्जिकल आँखा केन्द्र जस्ता संस्थाहरूको सहकार्यले प्रदेशका दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले यस्ता महत्वपूर्ण परियोजनाहरूलाई निरन्तर सहयोग र आवश्यक स्रोत व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे । मन्त्री सारूले शिक्षा र स्वास्थ्य राज्यको मुख्य जिम्मेवारी भएको बताउँदै स्कुल स्कुलमा स्वास्थ्य आँखा कार्यक्रम सञ्चालन गर्न लागेको प्रति प्रशंसा गरे ।

मन्त्री सारूले ठुलो ठुलो होटलमा कार्यक्रम गर्दा लाखौं रूपैयाँ खर्च हुने तर उपलब्धि केही नहुने भएकोले उपलब्धि मुलक कार्यक्रममा रकम खर्च गर्न आवश्यक रहेको बताए । मन्त्री सारूले गरिव, विपन्नले सेवा लिने ठाउँमा पहुँचवालाले समेत सुविधा लिएको पाइएकोले त्यसो नगर्न आग्रह गरे । पहुँचवालाले भन्दा विपन्न तथा पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा सहज तरिकाले पुर्‍याउन सुझाव दिए ।

त्यस्तै बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा उपचार केन्द्रले राप्ती गाउँपालिका लगायत छिमेकी पालिका र जिल्लाका सर्वसाधारणहरुलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

गाउँपालिकाकाे विशेष पहलमा आँखा उपचार केन्द्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष विष्टले यसलाई प्रदेश सरकारले थप सेवा वृद्धि गर्न आग्रह गरे । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको सहजीकरण तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ कार्यक्रम अधिकृत हरि कार्कीले गरेका थिए ।

यसै बीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले शुक्रबार तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे स्थलगत अवलोकन गरेका छन् । आँखा केन्द्रले आयोजना गरेको स्थानीय परियोजना सल्लाहकार समितिकाे बैठकमा सहभागी हुने क्रममा मन्त्री सारुले आँखा केन्द्रकाे अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे