नागरिक समाज देउखुरीको संयोजकमा खनाल र प्रेस संयोजकमा गुप्ता चयन



नागरिक समाज देउखुरीको संयोजकमा खनाल र प्रेस संयोजकमा गुप्ता चयन

लमही ५ जेठ । नागरिक समाज देउखुरीको संयोजकमा पूर्व कार्यवाहक संयोजक प्रकाशकुमार खनाल चयन भएका छन् ।

शुक्रवारको लमहीमा सम्पन्न भेलाले लामो समय देखि सचिव र केही समय कार्यवाहक संयोजक रहेका खनाललाई सर्वसहमतिले संयोजकमा चयन गरेको हो । भेलाले उपसंयोजकमा शीला शर्मालाई चयन गरेको छ । गठित समितिको सचिवमा बालमुकुण्द शर्मा आचार्य, सदस्यहरुमा गोविन्द रिजाल, यमकला गैरे, राधेश्याम गुप्ता, शेषमणि शर्मा घिमिरे, प्रताप चौधरी र सन्तवचन यादव रहेका छन् । भने भेलाले पत्रकार राधेश्याम गुप्तालाई कार्यसमितिको सदस्य सहित प्रेस संयोजकको जिम्मेवारी दिएको छ ।

क्षेत्रिय सल्लाहकार जागेश्वर शर्मा घिमिरे, दामोदर पाण्डेय र शशिधर ज्ञवालीको सक्रिय परामर्शबाट नयाँ नेतृत्व चयन गरिएको छ । समितिका कोषाध्यक्ष सहित समावेशी एवं क्षेत्रिय सन्तुलन मिलाएर १५ सदस्यीय बनाउने गरी नयाँ नेतृत्व चयन गरिएको हो । लमही नगरपालिका बाहिरका स्थानीय तहबाट कम्तीमा २÷२ जनाको सहभागिताको साथै समावेशीताका लागि केही पदहरु रिक्त राखिएको नवनिर्वाचित संयोजक खनालले बताएका छन् । नगरिक समाज देउखुरीका कार्यवाहक संयोजक प्रकाशकुमार खनालको अध्यक्षता एवम् नागरिक समाज दाङका संयोजक नीमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको भेलामा बोल्दै प्रमुख अतिथि थापाले नेपालको संविधान जारी भएको ९ वर्ष पुग्दै गर्दा संविधानमा उल्लेख गरिएको तीन वर्ष भित्र कानुन निर्माण गरेर सुशासन र मौलिक हकको कार्यान्वयन गरिने भनिए पनि अहिले पनि नागरिकको हितविपरित पुराना कानुनको प्रयोग गरेर धरपकड मच्चाइएकोले अब समीक्षा गर्ने बेला भएको बताएका छन् । साथै उनले २०८१ जेठ तेस्रो साता नेपालको संविधान २०७२ का मौलिक हकको कार्यान्वयनको अवस्था बिषयमा अन्तरक्रिया गरिने समेत जानकारी दिएका छन् ।

भेलामा बोल्दै सल्लाहकार जागेश्वर शर्मा घिमिरेले संविधान जारी भएको ९ वर्ष पुरा हँुदै गर्दा सार्वभौमसत्ता सम्पन्न नागरिकले मौलिक हकसम्म प्रयोग गर्न नपाएको गुनासो गरे । अर्का सल्लाहकार दामोदर पाण्डेयले संविधानको धारा ३१ र ३५ मा शिक्षा र स्वास्थ्य निशुल्क भनिए पनि दुबैमा निजी र सामुदायिकको नाममा जे मन लाग्यो त्यही भइरहेको बताए । त्यस्तै लामो समय माविको प्रअ रहेका शशिधर ज्ञवालीले इच्छाएको विद्यालयमा पढ्न पाउनु बच्चाको अधिकार भए पनि एउटै स्थानमा दुई प्रकारको पाठ्यपुस्तक सञ्चालन गराउनु समाजवाद उन्मुख भनिएको सरकारलाई सुहाउने बिषय नभएको बताए । नवनिर्वाचित उपसंयोजक शीला शर्माले सहभागि सबैलई धन्यवाद दिंदै देश सन्तुलित ढंगले चलिरहेको छैन, यस्तो अवस्थामा नागरिक समाज अलि चनाखो हुनुपर्ने बताइन् । त्यस्तै सहभागी वक्ताहरुले विगत केही समय नेतृत्व देश बाहिर रहेका कारण क्षेत्रिय समितिको गतिविधि सुस्त रहेको समीक्षा गर्दै देशको कालपरिस्थिति अनुसार नागरिक समाज चल्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव बालमुकुण्द शर्मा आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे