वन कार्यालय, स्थानीय सरकार र नागरिक बीच समन्वय हुन आवश्यक रहेकाे सराेकारवालाकाे जाेड



वन कार्यालय, स्थानीय सरकार र नागरिक बीच समन्वय हुन आवश्यक रहेकाे सराेकारवालाकाे जाेड

देउखुरी २३ असार । विकास निर्माण, उद्यमशिलता र पर्यापर्यटनकाे विकासका लागि सबै पक्ष बीच समन्वय, सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताले जाेड दिएका छन् । डिभिजन वन कार्यालय देउखुरी लमहीले आज मंगलबार राप्ती गाउँपालिकाका सराेकारवाला संग आयाेजना गरेकाे समन्वय बैठकमा बाेल्ने बक्ताहरूले यस्ताे कुरामा जाेड दिएका हुन् ।

डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख गणेश खड्काकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यतामा भएकाे समन्वय बैठकमा सहभागीहरूले वन क्षेत्रको संरक्षण, दिगो उपयोग, वनजन्य उद्यम विकास तथा स्थानीय तह र वन कार्यालयबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए ।

साथै बैठकमा वन क्षेत्रका चुनौती, अवसर तथा आगामी दिनमा अपनाउनुपर्ने साझा कार्ययोजनाबारे समेत छलफल भएको थियो । बैठकमा वन संरक्षण, वन पैदावार व्यवस्थापन, सामुदायिक वनको प्रभावकारी सञ्चालन, वनजन्य विपद् न्यूनीकरण तथा वन क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल गरिएको थियो ।

साे अवसरमा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वन ऐन तथा वनसम्बन्धी कानुनी व्यवस्थाले विकास निर्माणका कार्यमा बाधा पुग्न नहुने बताए । उनले वन संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । अध्यक्ष बिष्टले स्थानीय तहले सञ्चालन गर्ने सडक, खानेपानी, सिंचाइ तथा अन्य पूर्वाधार आयोजनाहरू वनसम्बन्धी प्रक्रियाका कारण अनावश्यक रूपमा प्रभावित हुन नहुने बताए ।

त्यस्तै उनले राप्ती गाउँपालिका क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग आसपासका जीर्ण तथा जोखिमपूर्ण रुखहरूले सवारीसाधन र यात्रुको सुरक्षामा खतरा उत्पन्न गरिरहेको उल्लेख गर्दै यस्ता रुखहरूको पहिचान गरी समयमै व्यवस्थापन गर्न वन कार्यालयले आवश्यक पहल गर्नुपर्ने बताए । अध्यक्ष विष्टले वन संरक्षणसँगै वन क्षेत्रमा आधारित उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा पनि राखे । वनजन्य उत्पादनको प्रशोधन, जडीबुटी, बाँस, निगालो तथा अन्य वन पैदावारमा आधारित आयआर्जन र रोजगारमूलक कार्यक्रम सञ्चालन गरी स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्न सकिने उनको भनाइ थियो ।

डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजन वन अधिकृत गणेशबहादुर खड्काले वन संरक्षण, जैविक विविधता जगेर्ना र दिगो वन व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले वन ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे

कार्यक्रममा वन महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनहरू वन संरक्षणका सफल नमुना भएको उल्लेख गर्दै सामुदायिक वनमार्फत आयमूलक तथा उद्यमशीलता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले वन संरक्षणका उपलब्धिलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा राखे ।

बैठकमा राप्ती गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरी, १ नम्बर वडा अध्यक्ष गेमबहादुर खड्का, ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरी, ५ नम्बर वडा अध्यक्ष देबप्रसाद चाैधरी, इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख गाेपाल न्याैपाने, वन महासंघ राप्तीका अध्यक्ष दलबहादुर घर्तीमगर, वन महासंघ गढवाका अध्यक्ष नबराज न्याैपाने, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष तुलबहादुर कँवरमगर, विभिन्न सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरू, वन कार्यालयका कर्मचारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकले वन व्यवस्थापन, संरक्षण, वनमा आधारित उद्यम विकास तथा विकास निर्माणका कार्यलाई सन्तुलित रूपमा अघि बढाउन सम्बन्धित निकायहरूबीच सहकार्य र समन्वयलाई थप सुदृढ गर्ने निष्कर्ष निकालेको समेत छ । बैठककाे सहजीकरण डिभिजन वन कार्यालयकी बरिष्ठ वन अधिकृत महेश्वरी भट्टले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे